जसअनुसार अहिलेसम्म २६.५ किमि ४ लेन र २२ किमि २ लेन सडक कालोपत्र, ४२ वटा पुल, ३ सय ८० वटा कल्भर्ट निर्माण गरिएको छ । निर्माण व्यवसायीलाई तोकिएको समयमा काम सम्पन्न गर्न बारम्बार पत्राचार, बैठक, दुईपटक ठेक्का तोड्नेसम्मको चेतावनी पत्र दिइसकिएको आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालले बताए ।
यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । जुन कम्पनीले काममा प्रगति नबढाउँदा ०७९ असोज पहिलो साता आयोजनाले एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिएको आजको कान्तिपुरले लेखेको छ । ठेकेदारले काम चाँडै सक्ने प्रतिबद्धता जनाएपछि आयोजना ठेक्का तोड्नबाट पछि हटेको थियो । अहिलेसम्म काम सकिएको छैन । पटक–पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले काम नसकेपछि ठेक्का लिने कम्पनीको केन्द्रीय कार्यालय चीनमा समेत के कति कारणले काममा ढिलो भएको र के कसरी समयमै सम्पन्न गर्ने योजना छ भनी जवाफदेही बन्न र प्रतिबद्धता पेस गर्न पत्राचार गरिएको आयोजना प्रमुख ढकालले जनाए ।
‘दाउन्ने खण्डमा १४ किमि ३ लेन सडक मात्र भएको र १ सय १२ वटा कल्भर्ट बनाउनुपर्ने भएकाले यातायात सुचारु गर्न कठिन छ,’ उनले भने, ‘अन्यत्र नियमित मर्मत संभार गर्न, पानी छर्कन जिल्ला प्रशासन र ट्राफिक प्रहरीको सहयोग लिइएको छ ।’ अन्यत्रको खण्डमा छिटो सम्पन्न गर्ने गरी प्रयास भइरहेको उनको भनाइ छ । । सुरु ठेक्काअनुसार ०७९ साउन २२ भित्र यसको काम सकिसक्नुपर्ने हो । यो समयभित्र काम नसकिएपछि दोस्रो पटक ०८१ साउन ८ सम्मका लागि म्याद थपिएको थियो । यो अवधिमा पनि काम नसकिएपछि केही दिनअघि तेस्रो पटक ०८२ साउन ८ सम्मका लागि म्याद थपिएको आयोजनाले जनायो ।
‘अब थपिएको समयभित्र काम सक्नुपर्छ,’ उनले भने । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ । यता मुग्लिङ–पोखरा सडकको प्रगति पनि सोचेअनुरुप छैन । यसलाई पनि दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । पृथ्वी राजमार्गमा पर्ने उक्त सडक खण्ड स्तरोन्नतिको काम थालेको तीन वर्ष भयो ।
आँबुखैरेनी–जामुने पहिलो (पूर्वी) र जामुने–पोखरा दोस्रो (पश्चिम) गरी दुई खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ । जसको ठेक्का ०७७/७८ मा भएको हो । आँबुखैरेनीदेखि पोखरासम्मको कुल दूरी ८०.३३ किमि छ । जसको समग्रमा भौतिक प्रगति ४७ प्रतिशत छ । मुग्लिङ–आँबुखैरेनी खण्डको ९ किमिमा अझै ठेक्का लाग्न सकेको छैन । आँबुखैरेनी–जामुने खण्डमा ६५ प्रतिशत र जामुने–पोखरा खण्डमा अहिलेसम्म ३० प्रतिशत भौतिक प्रगति छ । आँबुखैरेनी–जामुने खण्डको सुरु म्याद ०८१ वैशाखसम्म थियो । अहिले म्याद थप गरेर असोजसम्म पुर्याइएको छ ।
जामुने–पोखरा खण्डको म्याद ०८१ भदौ १२ सम्म मात्र छ । पहिलो खण्डको ठेक्का चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले लिएको हो । यसको दूरी ४१.४५ किमि छ । दोस्रो खण्ड जामुने–पोखरा सेती पुलसम्मको ठेक्का यान हुई कन्स्ट्रक्सनले लिएको हो । यसको दूरी ३८.८८ किमि छ । आयोजना प्रमुख ढकालका अनुसार कुल दूरी ८०.३३ किमिमध्ये ३२ किमि ४ लेन, २१ किमि दुई लेनमा कालोपत्र भएको छ । उक्त सडक ६०.२४ किमि दुई लेन, २०.०९ किमि ४ लेनसहित दुईतर्फ गरेर ६/६ लेनको सर्भिस लेन बन्ने छ ।
२९ वटा पुल, २ सय ८१ वटा कर्ल्भट, नाला लगायतका संरचना निर्माण गरिने आयोजनाले जनायो । अर्को सवारी चाप हुने सडक हो, कमला–कञ्चनपुर । यो सडक खण्डको स्तरोन्नति गर्ने भन्दै ०७७ कात्तिक १३ मा ठेक्का भएको हो । सम्झौताअनुसार निर्माण कार्य ०८० कात्तिक ११ भित्र सक्नुपर्ने भए पनि उक्त समयमा नसकिएपछि ०८१ माघसम्मका लागि म्याद थपिएको छ । यसलाई दुई खण्डमा विभाजन गरेर निर्माणको जिम्मा लगाइएको छ, जसको दूरी ८६.८२ किमि छ । दुवै खण्डको ठेक्का रकम १५ अर्ब ६६ करोड रुपैयाँ हो ।
एडीबीको ऋण सहयोगमा निर्माण थालिएको यो सडक निर्माणको जिम्मा चाइना रेलवे नम्बर २ इन्जिनियरिङ कम्पनीले लिएको हो । कञ्चनपुर–कमला सडकको पूर्वी खण्ड ३९.४२ किमि र पश्चिम खण्डको ३६.९९ किमि छ । जसअनुसार अहिलेसम्म पूर्वी खण्डमा ४८ र पश्चिम खण्डमा ५३ प्रतिशत प्रगति छ । आयोजना प्रमुख ढकालका अनुसार ८६.८२ किमि मध्ये ७०.३३ किमि दुई लेन, १६.५० किमि चार लेनसहित दुईतर्फ ६/६ मिटरको सर्भिस लेन, ५४ वटा मुख्य पुल, २ सय १८ कर्ल्भट लगायत संरचना निर्माण गर्नुपर्नेछ ।
जसअनुसार अहिलेसम्म ५५ किमि दुई लेन सडक कालोपत्र, ३१ किमि असफाल्ट क्रंकिट, २५ वटा मुख्य पुलहरुको डेक स्ल्याब कास्टिङ सम्पन्न भइसकेको छ । त्यस्तै २ सय १२ वटा कल्भर्ट निर्माणको काम पनि सकिएको आयोजनाले जनाएको छ । ‘सबै आयोजनाहरुमा पहिलाभन्दा अहिले कामको प्रगति बढेको छ, तर पनि सन्तोषजनक छैन,’ आयोजना प्रमुख ढकालले भने, ‘सबैतिर छिटो काम सक्न दबाब दिएका छौं, सबैलाई ताकेता गरिरहेका छौं ।’ नेपाल पाना