६ मंसिर २०८१, बिहीबार

चीनका कट्टर आलोचक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने ट्रम्पको निर्णय

एसीपी संवाददाता

२७ कार्तिक २०८१, मंगलवार ०९:५६ मा प्रकाशित

समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्पले चीनको कट्टर आलोचक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने जानकारी आफू निकटकालाई दिएका हुन् ।

वाल्ट्ज फ्लोरिडाका जनप्रतिनिधि हुन् । उनी सेवानिवृत्त सैनिक अधिकृत हुन् । एसिया प्रशान्त क्षेत्रमा चीनको बढ्दो गतिविधिको उनले खुलेर आलोचना गर्ने गर्दछन् ।

समाचार एजेन्सी एपीका अनुसार राष्ट्रिय सुरक्षा सल्लाहकार शक्तिशाली र महत्वपूर्ण पद हो तर यसमा नियुक्तिका लागि सिनेटको मन्जुरी आवश्यकता पर्दैन ।

माइक वाल्ट्ज को हुन् ?

माइक वाल्ट्ज एक अमेरिकी राजनीतिज्ञ, सेवानिवृत्त सैनिक र लेखक हुन् । रिपब्लिकन पार्टीका सदस्य उनी राष्ट्रिय सुरक्षा मामिलामा अनुभवी मानिन्छन् । उनीसँग अमेरिकी रक्षा नीति, आतंकवाद विरोधी रणनीति र विदेशी सम्बन्धबारे राम्रो अनुभव रहेको रोयटर्सले जनाएको छ ।

वाल्ट्जसँग अमेरिकी सेनामा विशेष फोर्सको रूपमा सेवा गरेको अनुभव छ । उनी अफगानिस्तानमा समेत तैनाथ भएका थिए ।

यसै वर्ष उनले लेखेको पुस्तक ‘Hard Truths: Think and Lead Like a Green Beret’  सार्वजनिक भएको छ । त्यसमा उनका सैन्य र कूटनीतिक अनुभवहरू समेटिएका छन् । सो पुस्तकमा उनले चीनलाई अमेरिकी सुरक्षा र अन्तर्राष्ट्रिय स्थिरताका लागि मुख्य चुनौतिको रुपमा व्याख्या गरेका छन् ।

उनको विचारमा चीनले प्रविधि, साइबरस्पेस र आर्थिक रणनीतिमार्फत् अमेरिका र अरु देशहरुमा आफ्नो प्रभाव बढाउन खोजिरहेको छ । चीनको बढ्दो प्रभाव रोक्नका लागि उनले पाँच भागका रणनीतिबारे पनि उल्लेख गरेका छन् । ती रणनीतिहरुमा ताइवानलाई हतियार उपलब्ध गराउनुपर्ने, प्रशान्त क्षेत्रका देशहरुलाई अमेरिकी सहयोगप्रति आश्वस्त बनाउनुपर्ने, विमान तथा पानीजहाजको आधुनिकीकरण गर्नुपर्ने लगायत विषय उल्लेख छन् ।

ट्रम्पले थप दुई पदमा पनि महत्वपूर्ण नियुक्ति गरेका छन् । बीबीसीका अनुसार ६२ वर्षीय टोम होमन सीमा प्रमुखमा नियुक्त भएका छन् । होमन ट्रम्पको पहिलो कार्यकालमा इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट विभागको कार्यकारी निर्देशक थिए ।

यसैगरी न्यूयोर्ककी ४० वर्षीया एलिस स्टेफेनिकलाई ट्रम्पले संयुक्त राष्ट्रसंघको राजदूत नियुक्त गरेको न्यूयोर्क पोष्टले जनाएको छ । एलिस स्टेफेनिक सन् २०१४ मा रिपब्लिकन पार्टीबाट कान्छी सांसद चुनिएकी थिइन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x