४ आश्विन २०८३, आईतवार

चीनमा पुर्ब उपप्रधानमन्त्रीद्वारा बलात्कार घटना ; बेपत्ता पेङ सुआईकाे भन्दै चिनियाँ मिडियामा आएकाे इमेल ‘शंकास्पद’

एसीपी संवाददाता

३ मंसिर २०७८, शुक्रबार ०२:५५ मा प्रकाशित

३ गते मंसिर २०७८ । महिला टेनिस संघ (डब्लूटीए) का प्रमुखले चिनियाँ मिडियामा पेङ सुआईकाे भन्दै देखाइएकाे इमेलप्रति संशय व्यक्त गरेका छन् । डब्लूटीएका अध्यक्ष स्टीव साइमनले एक विज्ञप्तिमा भनेका छन्, ‘त्याे इमेल पेङ सुआईकाे हाे भन्ने कुरा मलाई विश्वास गर्नै गाह्राे भएकाे छ ।’
चीनकी शीर्ष खेलाडी सुआई एक उच्च चिनियाँ अधिकारीमाथि याैन उत्पीडनकाे आराेप लगाएदेखि बेपत्ता छिन् । करिब दुई सातादेखि उनी सम्पर्कविहीन रहेका बेला गत बुधबार उनकाे तर्फबाट गरिएकाे भनिएकाे इमेल मिडियामा आएकाे थियाे ।
पेङले लेखेकाे भनिएकाे इमेल चीनकाे सरकारी ब्राेडकास्टर सीजीटीएनले जारी गरेकाे हाे । इमेलमा गरिएकाे दाबीअनुसार पेङ सुआई बेपत्ता वा असुरक्षित छैनन् । ‘म अहिले घरमा आराम गरिरहेकी छु । र, सबै ठीकठाक नै छ’, इमेलमा भनिएकाे छ ।
उनका तर्फबाट अधिकारीमाथि लगाइएकाे यौन उत्पीडनकाे आरोप पनि झुटाे भएकाे कुरा इमेलमा लेखिएकाे छ ।
सामाजिक सञ्जालमा कयाैँ मानिसले इमेलकाे आधिकारिकतामा शंका व्यक्त गरेका छन् । सीजीटीएनकाे तर्फबाट जारी  इमेलकाे स्क्रिनसटमा एक टाइपिङ कर्सर देखिएकाले मानिसहरू त्याे इमेललाई पत्याइरहेका छैनन् ।
पेङ टेनिस डबल्स श्रेणीमा नम्बर वान र्‍याङ्किङ खिलाडी भइसकेकी छन् । उनले नाेभेम्बर पहिलाे साता चिनियाँ सामाजिक सञ्जालमा वीबोमा एक पोस्ट शेयर गर्दै पूर्वउपप्रधानमन्त्री झाङ गाओलीमाथि यौन शोषणकाे आरोप लगाएकी थिइन् । त्यसपछि उनी कतै देखिएकी छैनन् । अर्थात् सम्पर्कविहीन छिन् ।
उनले सामाजिक सञ्जालकाे पोस्टमा आरोप लगाएकी छन्, उनलाई झाङसँग यौन सम्बन्धका लागि बाध्य पारिएकाे थियाे । झाङ गाओली सन् २०१३ देखि २०१८ मा चीनका उपप्रधानमन्त्री थिए । उनी राष्ट्रपति सी चिनफिङका नजिकका सहयाेगीमध्ये एक थिए ।
पेङकाे पोस्टलाई पछि सामाजिक सञ्जालबाट हटाइएकाे थियाे । यसपछि पेङलाई सार्वजनिक रूपमा कतै देखिएकाे वा सुनिएकाे छैन । (बीबीसीकाे सहयाेगमा)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x