१२ असार २०८३, शुक्रबार

चीनसँग भिडने तयारीमा फौजी

एसीपी संवाददाता

२१ भाद्र २०७७, आईतवार १७:२७ मा प्रकाशित

चिनियाँ कम्पनीले निर्माण गरेको ‘पब्जी’ एपमा भारतले प्रतिबन्ध लगाएपछि भारतीय कम्पनी एन-कोर गेम्सले अभिनेता अक्षय कुमारसँग मिलेर नयाँ गेम ल्याउन लागेको जनाएको हो।

‘फौजी’ (एफएयू: जी) नाम दिइएको उक्त गेम अक्टुबर महिनाको अन्त्यसम्ममा बजारमा ल्याउने कम्पनीले उद्देश्य छ।

कम्पनीका सह-संस्थापक विशाल गोन्डलले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै भने, “फियरलेस एन्ड युनाइटेड गार्ड्स (एफएयू: जी) उक्त गेमको पूरा नाम हो। उक्त गेमबारे केही महिनादेखि काम भइरहेको थियो। हामीले गेमको पहिलो लेवललाई गलवान घाटीमा आधारित बनाएका छौँ।”

चीनसँगको भिडन्तस्थल फौजीमा

गलवान घाटीमा चीन र भारतका सेनाबीच गत जुन महिनामा पहिलो पटक झडप भएको थियो। जहाँ २० जना भारतीय सैनिक मारिएका थिए। त्यसयता नियन्त्रण रेखालाई लिएर दुई देशबीच तनाव चर्किएको हो।

सम्बन्धमा आएको तिक्तताबीच भारतीय सरकारले पब्जी सहित चिनियाँ कम्पनीले बनाएका ११८ वटा एपमा बुधवार प्रतिबन्ध लगाएको छ।

भारतमा पछिल्ला केही वर्षमा उक्त गेम निकै लोकप्रिय थियो।

जापानी फिल्म ब्याटल रोयलबाट प्रभावित भएर उक्त गेम बनाएको बताइन्छ। विश्वभर पब्जी खेल्नेहरूमध्ये २५ प्रतिशत भारतमा छन्।

चीनमा १७ र अमेरिकामा ६ प्रतिशत प्रयोगकर्ताले पब्जी खेल्ने गरेको बताइन्छ।

‘चीनभन्दा भारतमा धेरै खेलिन्छ’

भारतको भिडिओ गेम स्ट्रीमिङ साइट रूटर्सका प्रमुख कार्यकारी पीयूष कुमारले बीबीसीसँग कुरा गर्दै भने, “भारतमा पब्जी मात्र १७ करोड ५० लाख डाउनलोड भएका छन्। जसमा ७ करोड ५० लाख जति सक्रिय प्रयोगकर्ता छन्। अर्थात् चीनमा भन्दा भारतमा धेरैले पब्जी खेल्छन्।”

युवाहरूले उक्त गेम मन पराउने ठानिन्छ र भारतमा त्यसमाथि प्रतिबन्ध लगाइएपछि सामाजिक सञ्जालमा तीखो प्रतिक्रिया देखिएको छ।

विश्वभरी सन् २०१९ मा गेमको बजार १६.९ अर्ब डलरको छ। जसमध्ये ४.२ प्रतिशत सहित चीन सबैभन्दा अगाडि छ। दोस्रोमा अमेरिका, तेस्रोमा जापान अनि त्यसपछि ब्रिटेन र दक्षिण कोरिया छन्।

भारतमा भिडिओ गेमको उद्योगको बिस्तार निकै तीब्र रूपमा भइरहेको छ तर अझैँ पनि त्यहाँ एक अर्व डलरभन्दा कमको बजार छ।

लकडाउनका बेला भारतमा मोबाइल गेम खेल्नेहरूको सङ्ख्या निकै बढेको तथ्याङ्कले देखाएका छन्।

भारतमा अझैँ पनि अनलाइन गेम निर्माता निकै पछि रहेको बताइन्छ। तर फौजी नामको गेमका कारण त्यसका निर्माता चर्चामा छन्।

अक्षय कुमारले के भने?

त्यस गेममार्फत् कम्पनीले मानिसहरूमा रहेको देशभक्तिको लाभ लिन खोजेको आलोचकहरूको टिप्पणी पाइन्छ।

कम्पनीका सह-संस्थापक गोन्डल भन्छन्, “यसबाट हुने हुने आम्दानीको २० प्रतिशत रकम भारतको निम्ति शहीद भएका सैनिकका परिवारलाई दिइने छ।”

अभिनेता अक्षय कुमारले त्यस अभियानलाई साथ दिइरहेको बताइएको छ

कम्पनीका अनुसार गेमको नाम फौजी उनैले सुझाएका हुन्। अक्षय कुमारले शुक्रवार ट्वीट गर्दै त्यसबारे जानकारी पनि दिएका छन्।

उनले लेखेका छन्, “प्रधानमन्त्री नरेन्द्र मोदीको ‘आत्‍मनिर्भर भारत अभियान’ मा समर्थन गर्दै यो गेम प्रस्तुत गर्दा मलाई गर्व लागेको छ। मनोरञ्जनका अतिरिक्त खेलाडीले हाम्रा सैनिकको बलिदानबारे पनि थाहा पाउने छन्।”

कम्पनीले उक्त गेम सार्वजनिक भएको केही दिनमै करिब २० करोड मोबाइल प्रयोगकर्ताले गेम डाउनलोड गर्ने विश्वास लिएको छ । श्रोत बीबीसी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x