१८ श्रावण २०८३, सोमबार

चीन बाट आउने ब्रेक शु को प्याकेटमा सुन

एसीपी संवाददाता

७ श्रावण २०८०, आईतवार १७:४४ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्मकै उच्च परिणाममा सुन बरामद भएपछि यतिबेला चौतर्फी चासो र चिन्ताले बजार तताएको छ। साउन ३ गते राजस्व छली गरी ल्याएको एक क्विन्टल सुन बरामद भएको हो। यति ठूलो परिणाममा सुन बरामद भएपछि त्रिभुवन विमानस्थलको सुरक्षादेखि त्यहाँ सम्बद्ध सबै निकायका कर्मचारीहरूको भूमिकामाथि पनि प्रश्न उठेको छ। कुनै समय चर्चित अपराधी चाल्र्स शोभराजले ‘त्रिभुवन विमानस्थलबाट हात्ती छिराउन सक्छु’ भन्ने अभिव्यक्ति दिएका थिए। हालसम्मकै ठूलो परिणामको अवैध सुन भन्सार जाँचपास भएर विमानस्थलबाट बाहिरिनुले यसभित्रको संयन्त्रको कामबारे नै आमनागरिकले प्रश्न उठाएका छन्।

३३ किलो सुन प्रकरणमा केही आरोपी पक्राउ परे पनि यो मुद्दा विस्तारै सेलाएको थियो। अब एक सय किलो अवैध सुन ओसारपसारमा संलग्न, कारोबारी तथा यसको सञ्जालमा लागेकाहरूलाई कानुनी दायरामा ल्याउन सक्छ सक्दैन ? यो सरकारको परीक्षा सुरु भएको छ। साथै यो घटनाले नेपालमा सुन तस्करी गर्ने नयाँ शैलीको पनि खुलासा गरेको छ। झट्ट हेर्दा मोटरसाइकल र स्कुटरको ब्रेक सु पूरै सिल प्याक। तर, उक्त सामानमा ब्रेक सु मात्रै थिएन, सुन पनि भेटियो। आमनागरिकले आफन्तलाई विदेशमा पठाउने एक किलो अचार र विदेशबाट फर्किएका श्रमिकले ल्याएका दुईवटा मोबाइलमा आँखा गाडेर बस्ने विमानस्थलको सुरक्षा प्रशासनले आखिर यत्रो परिमाणको समानको सुइँकोसम्म किन पाएनन् ?

सुरक्षा संयन्त्र र उच्च प्रशासनिक तथा राजनीतिक नेतृत्वको आडबिना यति ठूलो परिणाममा सुन तस्करी सम्भव छ ? आमनागरिकका यस्ता प्रश्नहरूको जवाफ वर्तमान सरकारबाट खोजी रहेछन्। सुशासनका मुद्दामा केही अग्रसर देखिएको वर्तमान सरकारको नेतृत्वले अवैध सुन तस्करीको सञ्जाल तोड्ने सुनौलो अवसर प्राप्त गरेको छ। अब अवैध सुन बरामदको जश लिने होडबाजीभन्दा पनि सरकारका सम्बद्ध सबै सरोकार निकायले यसको सूक्ष्म अनुसन्धान अघि बढाउनुपर्छ। विमानस्थल सुरक्षा तथा जाँचपासमा संलग्न सुरक्षा तथा प्रशासन र राजस्वका कर्मचारीलाई समेत अनुसन्धानको दायरामा ल्याएर अध्ययन गर्ने हो भने यसमा संलग्नहरू सबै कानुनी दायरामा आउनेछन्। त्यसका लागि वर्तमान सरकारले आमनागरिकको थप भरोसा जित्ने गरी काम अघि बढाउनुपर्छ। सरकारलाई सुन तस्करीको सञ्जाल तोड्ने पनि एउटा अवसर हो यो। अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x