जसपामा उपेन्द्र यादव र ठाकुर बीच घमासान जारी
पार्टी एकताको ११ महिनासम्म जनता समाजवादी पार्टी (जसपा) को संसदीय दल समायोजना हुन सकेको छैन । जसपाले संसदीय दलको नेता टुंगो नलगाएका कारण संसद सचिवालयले दोहोरो सुविधा उपलव्ध गराइरहेको छ ।
एकीकृत पार्टीले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकलगायतका पद टुंगो लगाएर सचिवालयलाई जानकारी दिनुपर्ने थियो । तर, आन्तरिक किचलोमा फसेको जसपाले नेता टुंगो नलगाउँदा संसद सचिवालयमा तत्कालीन राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीका संसदीय दलको नेता र प्रमुख सचेतकहरू नै कायम छन् ।
१० वैशाख २०७७ मा राजपा र समाजवादी पार्टीबीच एकता भएको थियो । २४ असारमा निर्वाचन आयोगले पार्टी एकीकरणको निर्णय गरेको थियो । सोही निर्णयअनुसार २६ असारमा जसपाले संसद सचिवालयलाई राजपा र समाजवादी पार्टीबीच एकीकरण भएको जानकारी गराएको थियो ।
तर, २६ असारपछि एकीकृत जसपाले संसदीय दललाई समायोजना गर्न भने ध्यान दिएको छैन । पूर्वसमूहका संसदीय दलका नेता र प्रमुख सचेतकले सेवासुविधा लिइरहेका छन् ।
राजपाको संसदीय दलको नेता महन्थ ठाकुर र प्रमुख सचेतक लक्ष्मणलाल कर्ण छन् भने समाजवादीबाट संसदीय दलको नेता उपेन्द्र यादव र प्रमुख सचेतक उमाशंकर अरगरिया छन् ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार पार्टी एकीकरण भएको निर्वाचन आयोगको पत्रको जानकारी संसद सचिवालयमा आए पनि संसदीय दलको नेता टुंगो लगाई पार्टीले जानकारी दिएको छैन ।
पाण्डेले पार्टीले दलको नेता टुंगो लगाएर पत्र नपठाएसम्म सचिवालयले थप कामकारबाही अगाडि बढाउन नसक्ने बताए ।
संसदीय दलको नेता ठाकुर र यादवमध्ये को हुने ? भन्ने विवादका कारण जसपाले यो विषय टुंगो लगाउन नसकेको हो । पूर्वराजपा समूह ठाकुरलाई संसदीय दलको नेता बनाउन चाहन्छ । तर, समाजवादी दलका नेताहरू उपेन्द्र यादवलाई दलको नेता बनाउन चाहन्छन् । जसपामा ठाकुर र यादव दुवै कार्यकारी भूमिकामा छन् ।


