जापान बाट चार जना नेपाली निष्कासन
जापानमा अध्यागमन नियम उल्लंघन गर्ने आप्रवासीहरूमाथि थप कडाइ गर्दै जापान सरकारले चार नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा जापानमा बस्दै आएका विष्ट, राजभाट, बस्याल, र पौडेल थरका चार नेपालीलाई नेपाल फर्काइएको छ।
स्रोतका अनुसार उनीहरूलाई कोरियन एयरलायन्स र थाइ एयरलायन्समार्फत काठमाडौं पठाइएको हो। उनीहरू यसै साता नेपाल आइपुगेका छन्।
पछिल्लो समय जापानले अध्यागमन कानुन कडाइका साथ लागू गर्न थालेपछि नेपाली आप्रवासीहरू पनि त्यसको असरमा परिरहेका छन्। विशेष गरी अध्ययन, रोजगार, वा भ्रमण भिसामा जापान पुगेपछि त्यहाँ अबैध रूपमा बस्नेहरूको संख्या बढेपछि जापान सरकारले नियमित कारबाही थालेको हो।
यसअघि, फागुनको पहिलो सातामा पनि जापानले पाँच जना नेपालीलाई निष्कासन गरेको थियो। उनीहरूमा मगर, थापामगर, तामाङ, गौचन, र चेम्जोङ थरका एक-एक जना नेपाली थिए।
जापानमा अध्यागमन नियम कडाइसँगै गैरकानुनी रूपमा बस्ने नेपालीहरूका लागि जोखिम बढ्दै गएको देखिन्छ। स्थानीय प्रशासनले भिसा अवधि सकिएपछि पनि बसेका तथा अवैध रूपमा कार्यरत विदेशी नागरिकहरूलाई पहिचान गरी कारबाही अघि बढाइरहेको छ।



