थारु कल्याणकारिणी सभाको सजग रहना अपिल

कोरोना संक्रमणबाट जोगिन अपिल गर्दै चितवनका थारु समुदायले चाडपर्व कार्यविधि जारी गरेका छन् । थारु समुदाय चितवनको मैदानी क्षेत्रमा बसोबास गर्ने यहाँको मुख्य आदिवासी हुन् ।
थारु समुदायको एक मुख्य पर्व जितियामा गत वर्ष झाम्टा नाँच्दै गरेका थारु महिलाहरु । यो वर्ष भिडभाड हुने गरेर सामूहिक रुपमा कुनै पनि पर्वहरु नमानाउन थारु कल्याणकारिणी सभाले अपिल गरेको छ । फाइल तस्बिर
थारु समुदायको मुख्य जातीय संस्था थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति चितवनले शनिबार जितियासहित चैते दसैंसम्म के कसरी मनाउने भन्ने कार्यविधि जारी गरेको हो ।
कार्यविधिमा भिडभाड र सामूहिक रुपमा पर्व नमनाइ घर परिवारमा समिति रहेर कोरोनाबाट जोगिन जोड दिएको थारु कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरीले बताए । ‘चाडपर्वको रित पुरा गरौं, घरपरिवारमा सीमित भई पर्व मनाऔं र कोरोना संक्रमणबाट बचौं’ भन्ने मूल नाराका साथ ‘चितोनिया थारु समुदायको चाडपर्व कार्य विधि–२०७७’ जारी गरेको र पालना पनि गराउने चौधरीले जानकारी दिए ।
थारु समुदायले भाद्र कृष्ण अष्टमीमा जितिया पर्व मनाउँछन् । यो महिलाहरुले मनाउने पर्व हो । जितियामा सामूहिक नाच गान र पूजा हुन्छ । कार्यविधिमा सामूहिक रुपमा केही पनिे नगर्न भनिएको छ । त्यसपछि सोह्रश्राद्धको अन्तिम दिन दिवंगत पितृको सम्झनामा ‘अमोसा’ मनाउँछन् । यसमा पनि सामूहिक रुपमा गर्नु पर्ने कही विधिहरु छन् । यो पटक त्यो पनि नगर्न सभाले कार्यविधि बनाएको हो ।
दसैं अनि त्यसपछि तिहारका बेला हुने सोहराई पूजामा पनि घर परिवारमै सिमिति हुन भनिएको छ । छठ, बड्का एकादशी (ठुलो एकादशी) माघे संक्रान्तिको खिचरा, फागु र चैते दसैंसम्म सामूहिक भेटघाट र पर्वको अनुष्ठानहरु नगर्न कार्य विधिले जोड दिएको छ । ‘हामीले विज्ञ र अगुवाहरुलाई राखेर (भर्चुअल बैठक) छलफल गरेर निर्णय गरेका हौं । कार्य विधिमा समस्या भए ब्याख्या गर्ने र थपघट गर्ने अधिकार समितिलाई छ,’ चौधरीले भने ।
चैते दसैंका बेलामा चितवनको थारु बहुल क्षेत्रमा मेला लाग्ने गर्दछन् । आफ्नो मनोकांक्षा पूरा गर्ने उद्देश्यले भाकल गर्न चैत्र शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन चितवन राष्ट्रिय निकुञ्जको भित्र कसरमा बिक्रम बाबाको मेला लाग्छ । नवमीका दिन माडीमा गोदक मेला र भारतको डेवाढ भन्ने ठाउँमा पनि सहोदरा मेला लाग्ने गर्दछ । ती मेलामा चितवनका थारु सुमदाय सहभागी हुन्छन् । तर कोरोना कहरका कारण गत वर्ष पनि यी मेलाहरु भएनन् । यो वर्ष पनि नहुने थारु कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरीले बताए ।
‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो । हामी सुरक्षित रह्यौं भने पुरै जिन्दगी मनोरञ्जन गर्दै चाडपर्व मनाउँदै गरौंला तर अहिले अड्को पड्को तेलको धुप भने झैं रित मात्र पुरा हुने गरी चाडपर्व मनाऔं,’ सभापति ललितकुमार चौधरीको अपिल छ ।
पछिल्लो समय चितवनमा कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार शनिबार दिउँसोसम्म ९४६ जनामा संक्रमण देखिएको छ । निको हुने १६७ जना छन् । कोरोना संक्रमण देखिएका चितवनका ११ जनाले ज्यान गुमाएका छन् । साउनसम्म २०९ जनामा देखिएको संक्रमण भदौपछि तीव्र भएको हो । श्रोत ईकान्तिपुर



