देउवालाई सहयोग गर्न तयार भए ओलि अब एमसीसी सदन बाट पास हुने
काठमाडौं । संसदमा एमसीसी टेबुल भएपछि त्यसलाई पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवा र उनको सहयोगीहरुको दौडधुपले एमालेसँग सहकार्य गर्ने संभावना बढेर गएको छ । एमालेसँग बुधबार बिहिबारको लगातार छलफलपछि सहकार्यको संभावना बढेर गएको स्रोतले जनाएको छ ।
एमालेले राखेका मागमा प्रधानमन्त्री छलफल गर्न सहमत भएपछि विहिबार दुई पटक कुराकानी भएको थियो । एमालेले दुई पटकनै आफूहरुलाई संसदमा आउने वातावरण बनाए एमसीसीमा अवरोध नगर्ने जनाएपछि प्रधानमन्त्री देउवाले सभामुखलाई महाभियोग लगाएर हटाउन समेत सहमत भएपछि एमाले आन्तरिक छलफलमा जुटेको छ ।
बिहिबार साँझ वालुवाटारमा प्रधानमन्त्रीसहित कांग्रेसका नेताहरु र एमाले अध्यक्ष केपी ओलीसहित एमाले नेताहरुबीच भएको छलफल सकारात्मक बनेपछि एमाले नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । कांग्रेस गठबन्धन तोड्न र एमालेले राखेका माग सम्बोधन गर्न तयार भएपछि एमालेहरु आन्तरिक छलफलका लागि बिहिबार राती बालकोटमा जुटेका थिए । राती अबेरसम्म नै सो छलफल चल्ने बालकोट निकट स्रोतले जनाएको छ ।
बावालुवाटार बैठकमा एमसीसी अनुमोदनमा सहयोग गर्न प्रधानमन्त्री देउवाले एमालेसँग आग्रह गरेका थिए । एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल बिहीबार साँझ बालुवाटार पुगेका थिए । करिब २ घण्टा चलेको बैठक एमसीसी अनुमोदन र एमालेको संसद अवरोध हटाउने विषयमा केन्द्रित रहेको थियो ।
त्यसक्रममा एमालेले आफ्नो पूर्ववत अडान दोहोर्याएको थियो । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार एमालेले आफ्ना अडान कायमै राखेको जानकारी दिएका थिए । ‘प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच जारी राजनीतिक गतिरोधलाई समुचित सहकार्यमार्फत निकास दिने सहमति जुटेको छ, प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संविधान निर्माणको बेलामा जस्तै ‘कांग्रेस–एमाले समझदारी’ जुटाउने सैद्धान्तिक सहमति बनेको छ’, स्रोतले भन्यो । बिहीबार दिउँसो संसद भवनमा भएको छलफलभन्दा अगाडि नबढेपनि सहकार्यको खाका बनाएर अघि बढने विषयमा करिब करिब सहमति भएको छ ।
सञ्चारमन्त्री कार्कीका अनुसार एमालेसँगको छलफल सकरात्मक भए पनि निष्कर्ष निस्किसकेको भने छैन । दिउँसो पनि र साँझ पनि प्रधानमन्त्री देउवाले संसदको अवरोध हटाउने विषयमा खुला रुपमा छलफल गर्न तयार रहेको बताएका थिए । बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारले राखेको सैद्धान्तिक छलफलमा मतविभाजनको कुरा आएको बताएको थियो । सरकारले ल्याएको प्रस्तावमा सदनमा मतविभाजन गर्नु राम्रो नहुने भन्दै कांग्रेसले एमालेको साथ खोजेको थियो ।
अहिलेसम्म सत्ता गठबन्धन कायमै रहेको भन्दै शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल हुने भएपछि प्रधानमन्त्रीले एमालेसँगको सहकार्यलाई अघि बढाएका हुन् । बालुवाटार बैठकमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री तथा पार्टी सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा सहभागी थिए । साँझ बालुवाटारमा छलफल हुनुअघि बिहीबार दिउँसो एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्री देउवाले संसद भवनमा पनि छलफल गरेका थिए । तर त्यहाँपनि विना निस्कर्ष टुंगिएको थियो ।
संसद भवनमा देउवा निस्किएपछि एमाले अध्यक्ष ओलीलाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड पनि पुगेका थिए । प्रचण्डले अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताका सन्दर्भमा एक ठाउँमा उभिन ओलीलाई प्रचण्डले प्रस्ताव गरेका थिए । तर ओलीले यो विषय भन्दा पनि संसदमा एमालेले उठाएको माग बारे गम्भीर बन्न प्रचण्डलाई आग्रह गरेका थिए । बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा एमाले र माओवादी केन्द्रका नेताहरुबीच लामो समयपछि भेटवार्ता भएको थियो ।नेपालबहस


