देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानुको विकल्प नभएको – कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् ।
बिर्तामोडमा नेपाल प्रेस युनियनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले प्रतिनिधिसभा पुनर्स्थापना भए पनि अब संसद् चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेको उल्लेख गरे ।
‘नेपाल कम्युनिस्ट पार्टी पुरानै अवस्था (एमाले र माओवादी) मा फर्किए, सहज रुपमा अब संसद् चल्न सक्दैन’, उनले भने, ‘संसद् चल्न अप्ठ्यारो परिस्थिति भएपछि देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन, मध्यावधि निर्वाचनमार्फत भए पनि निकास दिनुपर्छ ।’
कोइरालाले अबका गतिविधि र कार्यक्रम चुनावमुखी हुनुपर्ने बताउँदै त्यसैअनुरुप तयारी गर्न कांग्रेस कार्यकर्तालाई निर्देशन दिए ।
पर्ख र हेरको अवस्थामा वर्तमान परिस्थिति नभएको भन्दै उनले कांग्रेसले देशलाई निकास दिन केही महत्वपूर्ण निर्णय तत्काल लिने जानकारी दिए । कांग्रेसको १४ औंँ महाधिवेशनमा आफू सभापतिको बलियो दावेदार रहेको कोइरालाले उल्लेख गरे । सोहीअनुरुप नै जिल्ला दौडाहामा निस्किएको उनको भनाइ थियो ।


