२६ कार्तिक २०८३, बुधबार

नरैनापुरको सयपत्री खेतीले नेपालगञ्जको आर्थिक समृद्धि र आत्मनिर्भरतामा टेवा पुर्‍याउँछ : विकास बहादुर सिंह

एसीपी संवाददाता

२६ कार्तिक २०८३, बुधबार १३:४१ मा प्रकाशित

दिनेश ठाकुर नेपालगञ्ज, कात्तिक २५ गते —  बाँकेको नरैनापुर गाउँपालिकामा किसानहरूले सुरु गरेको सयपत्री फूलको व्यावसायिक खेतीले नेपालगञ्जको आर्थिक समृद्धि, स्थानीय उत्पादनको प्रवर्द्धन र आत्मनिर्भरतामा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विकास बहादुर सिंहले नरैनापुरका किसानहरूले सुरु गरेको सयपत्री फूल खेतीलाई प्रशंसनीय, दूरदर्शी र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने महत्वपूर्ण अभियानका रूपमा व्याख्या गर्नुभएको छ।सिंहका अनुसार स्थानीय स्तरमै फूल उत्पादन बढाउन सके चाडपर्व, धार्मिक तथा सांस्कृतिक कार्यक्रम र विभिन्न औपचारिक समारोहमा आवश्यक पर्ने फूलको माग सहजै पूर्ति गर्न सकिन्छ। यसले बाहिरी जिल्लाबाट फूल आयात गर्नुपर्ने अवस्थालाई कम गर्दै स्थानीय किसानको आम्दानी वृद्धि गर्नसमेत सहयोग पुर्‍याउनेछ।

उहाँले भन्नुभयो, “नरैनापुरका किसानहरूले सुरु गर्नुभएको सयपत्री फूलको व्यावसायिक खेती केवल कृषि उत्पादनमा सीमित छैन। यो नेपालगञ्जको आर्थिक समृद्धि, स्थानीय उत्पादनको प्रवर्द्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने महत्वपूर्ण आधार बन्न सक्छ। स्थानीय उत्पादनलाई प्राथमिकता दिन सके किसान पनि आत्मनिर्भर हुन्छन् र स्थानीय अर्थतन्त्र पनि बलियो बन्छ।”नेपालगञ्ज उपमहानगरपालिकाको भावी नेतृत्वका लागि मेयर पदको उम्मेदवारीसम्बन्धी आफ्नो दृष्टिकोणसमेत प्रस्तुत गर्दै सिंहले स्थानीय कृषि उद्यम, उत्पादनमूलक व्यवसाय र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ।

उहाँका अनुसार स्थानीय स्रोत, साधन र सीपको अधिकतम उपयोग गर्दै आयात प्रतिस्थापन गर्नु तथा स्थानीय उत्पादनलाई बजारसँग जोड्नु समृद्धिको महत्वपूर्ण आधार हो।
नरैनापुरका किसानहरूको प्रयासको प्रशंसा गर्दै उहाँले यस्ता कृषि व्यवसायलाई आधुनिक, प्रविधिमैत्री र व्यावसायिक बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, स्थानीय उत्पादनको बजारीकरण, प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने कार्यक्रममार्फत स्थानीय सरकारले सहयोग गर्नुपर्ने धारणा राख्नुभएको छ।

नरैनापुरमा भइरहेको सयपत्री फूलको व्यावसायिक खेतीले कृषि पर्यटन, रोजगारी सिर्जना, किसानको आयआर्जन र स्थानीय बजारको विस्तारमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

स्थानीय उत्पादनलाई स्थानीय बजारसँग जोड्ने यस्ता प्रयासलाई प्रोत्साहन गर्न सके नरैनापुरका किसानको मेहनतले नेपालगञ्जसहित समग्र बाँकेको आर्थिक समृद्धिमा नयाँ सम्भावनाको ढोका खोल्न सक्ने देखिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x