नेपालगञ्जको अवस्था सामान्य बन्दै , कर्फ्यु खुकुलो बनाइने
नेपालगञ्ज । नेपालगञ्जको अवस्था सामान्य बन्दै गएपछि कफ्र्यु आदेश खुकुलो बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको सर्वपक्षीय बैठकले अवस्था सामान्य बन्दै गएपछि कफ्र्यु आदेश खुकुलो बनाउँदै पूर्णरुपमा हटाउनका लागि जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए ।
बैठकले सामाजिक सद्भाव कायम राख्दै अब उप्रान्त सद्भाव भड्किन नदिने प्रतिबद्धता ब्यक्त गरेको छ । यस्तै सबै क्षेत्र, तह र तप्काको उल्लेख्य सहभागिता हुने गरी सद्भाव र्यालीको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । बैठकले सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल पुर्याउने व्यक्तिहरुलाई तत्काल कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय गरेको छ ।

नेपालगञ्ज आज बिहानदेखि शान्त र सामान्य बन्दै गएको छ । हिन्दु र मुस्लिम समुदायबीच भएको विवादले मंगलबार दिउँसोदेखि अशान्त रहेको नेपालगञ्ज शान्त र सामान्य बन्दै गएको हो । दुई समुदायबीच बढेको तनाबले उग्ररुप लिने अवस्था देखिएपछि कफ्र्यु आदेश जारी गरिएको हो । सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले असोज १४ गते गरेको विरोध प्रदर्शनका कारण उत्पन्न परिस्थिति एवम् आज ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शन कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुने स्थिति देखिएकाले कफ्र्यु आदेश जारी गरिएको थियो ।


