नेपालगन्जमा शिवरात्री धुमधामका साथ मनाईदै
श्याम कुमार शाहु – आज नेपालगन्जमा शिवरात्री धुमधामका साथ मनाईदै छ । फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी आज देश लगाएत बिश्व भरिका हिन्दु धर्ममा आस्था राख्नेहरुले मनाउदै छन ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् ।
पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यी मध्ये पनि फागुन कृष्ण त्रयोदशीमा मनाइने शिवरात्रिको विशेष महत्व रहेको मानिन्छ ।
भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
यस पर्वका दिन उपवास रही रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।
यस दिन भगवान शिवलाई जाडो हुने जनविश्वासका कारण प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन छ । अहिले नेपालगन्जमा रहेको बिश्वको एक मात्र जुगेश्वर महादेवको मन्दिरमा सजि सजाउ गरिएको छ ।
दर्शनार्थीको सहयोगका लागि अहिले मन्दिरमा ठूलो संख्यामा स्वयंसेवक, नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षामा खटाइएको छ । बागेश्वरी मन्दिरको जुगेश्व्र महादेवलाई बेलपत्र , दूध , जल गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ ।


