नेपाल टेलिकमको नया अङ्ग्रेजी वर्षमा नयाँ सुबिधा
काठमाडौं, पुस १५

नेपाल टेलिकमले १० रुपैयाँ ब्यालेन्सबाट ४० मिनेट कुराकानी गर्न सकिने , ६० एमबी डाटा चलाउन पाइने र २० वटा एसएमएस गर्न पाइने नयाँ अफर सार्वजनिक गरेको छ ।
सिममा उपलब्ध १० रुपैयाँ ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिनेछ भने ४० मिनेट टक टाइम र २० वटा एसएमएस एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिनेछ ।
नेपाल टेलिकमले ९० रुपैयाँमा बिक्री–वितरण गर्ने नयाँ जीएसएम र सीडीएमए प्रिपेड सिमकार्डमा १० रुपैयाँ ब्यालेन्सबाट यो सुविधा लिन सकिने टेलिकमले जनाएको छ ।यसअघि नै सिमकार्ड खरिद गरी एक्टिभ नगरेका ग्राहकहरूले १५ पुसभित्र सिम एक्टिभेट गरेमा पुरानो व्यवस्थाअनुसारको ब्यालेन्स ५० रुपैयाँ प्राप्त हुनेछ भने १६ पुस वा सोभन्दा पछि एक्टिभेट गरेमा नयाँ व्यवस्थाअनुसारको ब्यालेन्स १० रुपैयाँ तथा थप सुविधा प्राप्त हुने टेलिकमले जनाएकाे छ ।यसअघि टेलिकमले नयाँ सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध गराउँदै आए पनि यो सुविधा भने थिएन । टेलिकमका अनुसार नयाँ अंग्रेजी वर्षको अवसर पारेर १६ पुसबाट यो अफर लागु गरिएकाे हाे ।



