नेपाल भारत बीचको व्यापारले उत्साहजनक गति लिँदै औसत व्यापार
विनय मोहन क्वात्रा ।
सन् २०१९ मा पहिलो चोटि देखा परेको कोभिड–१९ महामारीले पुनः एकपटक दक्षिण एसियाली क्षेत्रलाई नराम्रोसँग गाँजेको छ । कोरोना भाइरस संक्रमणको नयाँ लहर यस क्षेत्रमा तीव्र गतिमा बढ्दै जाँदा हामीसँग उपलब्ध स्रोतको परिचालन र अत्यावश्यक सामग्रीको जोहो गर्न अपरिहार्य भएको छ । गत वर्षझैं यो पटक पनि हाम्रो सुरक्षा र समृद्धिका लागि आपूर्ति शृङ्खला कति महत्त्वपूर्ण छ भन्ने कुरा यस महामारीले सिकाएको छ ।
सन् २०२० मा महामारीले हामीलाई आक्रान्त पार्दा हवाई क्षेत्र, सीमानाका, मानिस, वस्तु र अन्य कुराको चहलपहललाई पूर्ण रूपमा ठप्प पारिनुपर्छ भन्ने विश्वव्यापी आवाज थियो । तर भारत र नेपालबीचको सीमाले विभाजनको रेखा नभई सम्बन्धको आधार जनाउँछ । दुई देशबीचको अन्तरदेशीय व्यापार सेवाबाट दुवै देश तथा स्थानीय समुदायको जीवन धानिने भएकाले यसलाई निरन्तरता दिन अत्यन्तै आवश्यक छ ।
यही कारण हो, धेरैजसो राष्ट्रले आफ्नो सीमानाका बन्द राखिराख्दा पनि भारत र नेपालले दुई देशबीचको व्यापारिक मार्ग खुला राखी यसको सञ्चालनलाई निरन्तरता दिइराखेका छन् । र यसको परिणाम सबैले देखेका छन् । अप्रिल २०२० मा केही उतारचढाव आए पनि त्यसपछिका दिनमा भने भारत र नेपालबीचको व्यापारले उत्साहजनक गति लिँदै औसत व्यापार प्रवाहलाई उछिनेको छ ।
नेपाल भन्सारको तथ्याङ्क अनुसार, भारत नेपालको सबैभन्दा ठूलो निर्यात गन्तव्य हो । नेपालको कुल निर्यातको ७४ प्रतिशत हिस्सा भारतले ओगटेको छ । १० प्रतिशत हिस्सा ओगटेको अमेरिका दोस्रो स्थानमा छ भने त्यसपछि क्रमशः जर्मनी (३ प्रतिशत), बेलायत (२ प्रतिशत), टर्की (१.५ प्रतिशत), फ्रान्स (१ प्रतिशत) र जापान (१ प्रतिशत) छन् । ईकान्तिपुर



