परिवारवाद र यादववादको मोहमा उपेन्द्र
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवमाथि जातिवाद र परिवारवादको आरोप लाग्ने गरेको छ । जसलाई उनले व्यवहारमै पनि देखाउने गरेका छन् ।
पार्टीमा पनि आफ्नै जातको यादवहरुलाई च्याप्ने उपेन्द्रले आफ्ना छोरालाई उपमेयर उम्मेदवार बनाएर परिवारवादको नमूना प्रस्तुत गरेका छन् । राजनीतिमा समानता मधेसीको हक अधिकारका लागि भन्दै लडेका उपेन्द्रले व्यवहारमा भने आफ्नो जाति र आफ्नो परिवारलाई मात्रै च्यापेपछि विरोध सुरु भएको छ । उनले अहिले गठबन्धन सरकारमा पनि यादवहरुलाई प्राथमिकता दिएर मन्त्री बनाएका छन् ।
सोझा साझा मधेसी जनताको अधिकारका लागि भनेर राजनीति गरेका उपेन्द्रले अवसर भने आफै र परिवार र आसेपासेमा सीमित गरेका छन् ।
यसैक्रममा उनले आफ्नो छोरा अमरेन्द्र यादवलाई स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको उपमेयर उम्मेदवार बनाएका छन् । पार्टीभित्र एकसे एक काबिल र दिग्गज अधिकारी हुँदाहुँदै उपेन्द्रले पार्टीभित्र टिकटमा परिवारवाद लादेका हुन् ।
गठबन्धनबाट विराटनगरको उपमेयरको कोटा पाएको जसपाले सोमबार अमरेन्द्रलाई विराटनगर महानगरको उपमेयरको उम्मेदवार बनाएको हो । यहाँ मेयर कांग्रेसले पाएको छ । नागेश कोईराला कांग्रेसबाट मेयर उम्मेदवार छन् ।


