५ आश्विन २०८३, सोमबार

पीडित सलमान खानको खुलासा: नेपालगन्ज नर्सिङ होममा महँगो शुल्क असुली र उपचारमा लापरबाही!

एसीपी संवाददाता

६ आश्विन २०८३, मंगलवार ००:३२ मा प्रकाशित

नेपालगन्ज — नेपालगन्जस्थित सुप्रसिद्ध मानिने नेपालगन्ज नर्सिङ होम अस्पतालमा चिकित्सक तथा कर्मचारीहरूको चरम लापरबाही र गैरजिम्मेवारपूर्ण व्यवहार बाहिर आएको छ। पीडित अभिभावक सलमान खानले भिडियोमार्फत अस्पतालको लापरबाहीका कारण आफ्नो नवजात शिशुले भोग्नुपरेको पीडा र अस्पतालको मनपरी असुलीको पर्दाफास गरेका छन्।

पीडित सलमान खानका अनुसार २७ गते जन्मिएका उनका छोरालाई सामान्य श्वासप्रश्वासमा समस्या देखिएपछि तत्कालै नेपालगन्ज नर्सिङ होम भर्ना गरिएको थियो। अस्पतालमा पुग्नेबित्तिकै त्यहाँका पीआरओ (PRO) तथा कन्सल्टेन्ट डाक्टरहरूले बच्चाको अवस्था अति गम्भीर रहेको भन्दै बेड चार्ज बापत मात्रै दैनिक १२ हजार रुपैयाँ र उपचार खर्च छुट्टै लाग्ने बताएका थिए। महँगो शुल्क तिरेर बच्चालाई भर्ना गरे पनि अस्पतालले भनेजस्तो भरपर्दो सेवा दिन सकेन।

श्वासप्रश्वासमा समस्या भएपछि बच्चालाई दुई दिनसम्म मेशिन (भेन्टिलेटर) मा राखिएको थियो। तर मेशिनबाट निकालेपछि पनि बच्चालाई राम्ररी श्वास फेर्न गाह्रो भइरहेको थियो। अस्पताल परिसर र वार्डमा फोहोरको डङ्गुर थुप्रिएको भए पनि सरसफाइ गर्ने जिम्मेवारी कसको हो भन्ने बारे चिकित्सक तथा कर्मचारीहरूलाई कुनै ज्ञान नभएको पाइएको छ।

अस्पतालको आईसीयू (ICU) कक्षमा रातदिन खटिने कतिपय कर्मचारी वा व्यक्तिहरू स्वयं १४-१५ वर्षका कलिला बालिकाहरू रहेका छन्। उनीहरूलाई नै बिरामीको उपचार गर्ने जिम्मा दिइएको र बिरामीको अवस्थाबारे समेत पत्तो नहुने गरेको गम्भीर आरोप पीडित सलमान खानले लगाएका छन्।

आफ्नै आँखाअगाडि अन्य बालबालिकाहरूको समेत स्वास्थ्यमा खेलबाड भइरहेको र अस्पतालले सामान्य मानवीय संवेदनासमेत नदेखाएको गुनासो गरिएको छ।

अस्पतालको लापरवाही र महँगो शुल्कको आतंक सहन नसकेपछि अभिभावक सलमान खानले बच्चालाई तत्कालै नेपालगन्जबाट भारत लैजाने निर्णय गरे। भारत पुर्‍याएर उपचार गराएपछि हाल बच्चाको स्वास्थ्य अवस्था सामान्य र ठीक रहेको परिवारले जनाएको छ।

यस प्रकारका घटनाले नेपालगन्ज क्षेत्रका अन्य स्वास्थ्य संस्थाहरूको सेवा प्रवाहमाथि पनि गम्भीर प्रश्न उठाइएको छ। नाम चलेका ठूला अस्पतालहरूले बिरामीको ज्यानभन्दा पनि व्यापार र नाफालाई मात्र प्राथमिकता दिएको स्थानीय नागरिकहरूको गुनासो छ।

घटना बाहिर आएपछि स्थानीय बासिन्दा, युवा तथा अधिकारकर्मीहरूले नेपालगन्ज नर्सिङ होममाथि निष्पक्ष छानबिन गरी दोषी चिकित्सक र सञ्चालकहरूमाथि कडा कानुन कारबाही गर्न जोडदार माग गरेका छन्। साथै, जिल्ला प्रशासन कार्यालय तथा स्वास्थ्य मन्त्रालयले तत्काल अनुगमन समिति गठन गरी यस्ता गैरकानूनी र लापरबाहीपूर्ण गतिविधि गर्ने अस्पतालहरूलाई कडा दण्ड दिनुपर्ने आवाज उठिरहेको छ।

नाम चलेको ठूलो अस्पताल भनिए पनि नेपालगन्ज नर्सिङ होमले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्दै चर्को असुली मात्रै ध्येय राखेको पीडितको गुनासो छ। यसप्रकारको गम्भीर लापरवाहीप्रति सम्बन्धित निकायको समयमै ध्यान जान र पीडितले न्याय पाउन जरुरी देखिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x