पोखरा । पोखराले लामो समयदेखि देखेको सपना हो, पोखरा–भद्रपुर उडान थाल्ने र दार्जिलिङ, सिक्किमका साथै भुटान र बंगलादेशका पर्यटनकलाई त्यही बाटो भएर पोखरा ल्याउने । पोखरा–भद्रपुर उडानले २५ फागुनमा सार्थकता पायो । त्यसको भोलिपल्ट पोखरा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा पोखराका व्यवसायीहरुको टोली भद्रपुर घुमेर फर्कियो ।
तर उडान सुरु भएको सुखी मनाइसक्दा नसक्दै बन्द भएको छ । सडक यात्रामा करिब २० घन्टा लाग्ने भद्रपुरमा ७० मिनेटमै पुग्ने गरी रात्रिकालीन उडान समेत गर्ने बुद्ध एयरको घोषणा ४ पनि टिकेन । ९ हजार ६८५ भाडादर तोकेको बुद्धले यात्रु नै नपाएको भन्दै उडान बन्द गरेको हो ।
देशका प्रमुख सहरलाई हवाइ सञ्जालमार्फत पोखरासँग जोड्ने र पर्यटकीय तथा आर्थिक विकासमा ठूलो उपलब्धि हात पार्ने भन्दै थालिएका धेरैजसो उडान यसरी नै असफल भएका छन् । मुख्यमन्त्रीदेखि मेयरसम्मले जहाज चढेर तामझामले थालिएका अधिकांश उडान केही समयमै बन्द भएका छन् ।
पोखराबाट काठमाडौं, चितवन, भैरहवा, नेपालगञ्ज, मुस्ताङमा भने नियमित उडान भइरहेको छ ।
यसबाहेक पोखराबाट मनाङ, विराटनगर, सिमरा, जनकपुर र धनगढी उडान यसैगरी तामझामका साथ थालिएको थियो । तर कतिपय ठाउँमा उद्घाटनकै दिन बाहेक जहाज गएन भने कतिपय ठाउँमा केही उडानमै रोकिए । हचुवाको भरमा उडान थालनी गर्ने, तर पर्यटन भित्राउने कार्यक्रम नबनाउने गर्दा पोखराको हवाइ सञ्जाल विस्तारै मजाक बनेको व्यवसायी गणेशबहादुर थापा बताउँछन् । अनलाइनखबर


