३ आश्विन २०८३, शनिबार

प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने पार्कको स्थानीयको प्रतिकार

एसीपी संवाददाता

७ फाल्गुन २०७७, शुक्रबार ०८:४० मा प्रकाशित

झापा । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा रहेको गौरादहमा शक्ति प्रदर्शन गर्दै दमकमा निर्माण हुन लागेको औद्योगिक पार्कको विरोध गरेको छ । मञ्चले गौरादहमा पार्टी कार्यकर्ताहरुको वृहत उपस्थितिमा र्याली निकालेको थियो । 

प्रधानमन्त्री ओली यही फागुन १६ गते दमकमा निर्माण हुन लागेको औद्योगिक पार्कको शिलान्यास गर्न आउने तय भएपछि मञ्चले पार्कलाई जग्गा दिएका जग्गाधनीहरुको मुआब्जाको विषयलाई लिएर प्रर्दशन गरेको हो । जिल्लाको गौरादह, कमल गाउँपालिका र दमक नगरपालिका जोडिएको हजारौं विगाहा जमीनमा बन्न लागेको क्लिन पार्कले पीडित बनाएपछि त्यहाँका विस्थापितहरुको पक्षमा लिम्बुवानले खुलेर दवाबमूलक कार्यक्रमहरु गर्दै आएको छ।

प्रदर्शनका सहभागीहरुले लिम्बुवान र पहिचानका मुद्धाका साथै क्लिन पार्कका सम्बन्धमा आफ्ना सरोकार राखेका थिए । उनीहरुले ओली सरकार भ्रष्ट भएको, क्लिन पार्कको वास्तविकता सार्वजनिक गर्नुपर्ने, क्लिन पार्क पीडितको आवाज सुनुवाई गर्नुपर्ने, उचित मुआब्जा वितरण गर्नुपर्ने माग राख्दै गौरादह बजार परिक्रमा गरेका थिए ।

लिम्बुवान भोलेन्टियर केन्द्रीय कमाण्डका प्रवक्ता राजु राईको अध्यक्षतामा भएको सभामा केन्द्रीय अध्यक्ष कुमार लिङ्देन (मिराक) ले वर्तमान सरकार भ्रष्ट, निरङ्कुश र राष्ट्रघाती भएकाले ओली सरकारलाई सङ्घीयवादीहरुले सडकमा ल्याएरै छाड्ने बताए । 

सरकारले विकासको नाममा सर्वसाधारणको उठिबास लगाउन खोजेकोमा कडा आपत्ति जनाउँदै उनले आफूहरु विकास विरोधी नभएको तर विकासको नाममा ओली ब्रान्डले सत्यानास गरेको आरोप लगाए । चिनियाँ लगानीमा दमकमा बन्न लागेको औद्योगिक पार्क स्थापना गर्ने क्रममा त्यहाँका सयौं सर्वसाधारणहरु उठिवास हुन लागेको चर्चा गर्दै उनले यदि पार्क बन्ने हो त्यसवारे सत्यतथ्य सार्वजनिक गरिनुपर्ने बताए । 

उनले क्लिन पार्क के हो ? के के बन्छ ? त्यो सबै लिम्बुवानी जनतालाई जानकारी हुनुपर्ने र सत्य तथ्य कुरा बाहिर ल्याएरमात्र काम शुरु गर्न आग्रहसमेत गरे । लिम्बुवान भूमिभित्र हुने हरेक विकास निर्माणमा लिम्बुवानलाई समावेस नगरी गरेमा त्यो सार्थक नहुने र लिम्बुवानलाई मान्य नहुने उनले चेतावनी दिए ।

सभामा पार्टीका झापा जिल्ला इन्चार्ज भानु भट्टराईले पनि क्लिन पार्क प्रधानमन्त्री ओलीको चुनावी नारामात्र भएकोले त्यसको वास्तविकता सार्वजनिक गर्न माग गरे । आफूहरु विकास विरोधी नभएको तर विकासको नाममा एकाधिकारको भण्डाफोर गर्ने बताउँदै उनले दलित, जनजाति र सुकुम्बासीलाई आफूहरुले धोका नदिने बताए ।

सभामा दलित मुक्ति मञ्चका नेता बलराम ऋषिदेवले ओली सरकारको भण्डाफोर गर्दै विकासको नाममा दलित माथिको दमनको विरोध जनाए । दमकमा बन्ने भनिएको दमक क्लिन पार्कको बहानामा दलित र आदिवासी तथा जनजातिलाई जबर्जस्ती आफनो जग्गाको मुआब्जा लिन बाध्य बनाएको जनाउँदै उनले लिम्बुवानका सारा दलित, जनजाति र आदिवासीहरुले अब प्रतिकार गर्ने चेतावनी दिए ।

सभामा दमक क्लिन पार्क संघर्ष समितिका संयोजक खगेन्द्र भट्टराईले क्लिन पार्कको बारेमा आफूहरुले प्रधानमन्त्री, झापा जिल्लाका सिडिओ, दमक मालपोत कार्यालय, दमक नापी, क्लिन पार्क व्यवस्थापन समितिको कार्यालय लगायत सबै राजनैतिक दललाई आफ्ना माग सहितको ज्ञापन पत्र बुझाएको तर लिम्बुवान बाहेक अरु कुनै पनि राजनैतिक दल र सरोकार निकायले सुनुवाई नगरेकाले लिम्बुवान पार्टीले मात्र आफ्ना अधिकार रक्षामा आशा जागेको बताए । 

संयोजक भट्टराईले आफ्नो मागको सम्बोधन र सुनुवाई नभएमा थप आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुने बताए ।हाम्रो कुरा बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x