२१ बैशाख २०८३, सोमबार

प्रेसविरोधी अभिव्यक्तिको चौतर्फी आलोचना

एसीपी संवाददाता

२३ माघ २०७९, सोमबार ०८:४१ मा प्रकाशित

सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार : महासंघ

काठमाडौँ — सरकार छाड्ने निर्णय गरेपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई लक्षित गर्दै दिएका अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । सञ्चारसम्बद्ध पेसागत संघसंस्था, संविधानविद्, कानुन व्यवसायी, नागरिक समाजका अगुवा र राजनीतिकर्मीले लामिछानेले पदमुक्त हुँदाको आक्रोश मिडियामाथि पोखेको बताएका छन् ।

नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ति जारी गरी लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको जनाएको छ । ‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुन सक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ,’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयं लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघ प्रस्ट पार्न चाहन्छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकारको पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित नहुने पनि महासंघले भनेको छ । महासंघले लामिछानेलाई आफ्ना अभिव्यक्ति फिर्ता लिई प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न आग्रह गरेको छ ।

महासंघका पूर्वअध्यक्ष सुरेश आचार्य लामिछानेको आक्रोश आफूलाई कानुनभन्दा माथि राखेर राज्यबाट प्राप्त हुने अधिकार दुरुपयोगको सपना बिथोलिएपछिको विचलित मानसिकताको परिणाम भएको बताउँछन् । लामिछाने विगतमा मिडियालाई दुरुपयोग गरेर स्थापित भएको र अहिले मिडियालाई नै गाली गरेर आफू चोखिने प्रयत्न गरिरहेको आचार्यको भनाइ छ । ‘लामिछानेमाथि लागेका आरोपलाई मिडियाले निरन्तर उठाइरहेका छन्, जसबाट उम्किन सक्ने अवस्था छैन,’ उनले भने, ‘त्यसैले आक्रामक भएर सहानभूति लिने दुष्प्रयास गरिरहेका छन् ।’

महासंघका अर्का पूर्वअध्यक्ष शिव गाउँलेले नेपाली प्रेसले लामिछानेमाथि उठाएका प्रश्नलाई अदालतले फैसलामार्फत वैधानिकता दिएपछि उनी असहिष्णु भएर पत्रकारितामाथि खनिएको बताए । ‘शक्तिबाट बाहिरिएपछि नयाँ हुन् वा पुराना राजनीतिज्ञहरू मिडियाप्रति असहिष्णु हुने गरेका छन्, दीर्घकालको सम्भावना बोकेका राजनीतिज्ञले हतासमा संयम गुमाउनु राम्रो होइन,’ उनले भने, ‘यसले प्रेस आक्रोशित बनेको छ, लामिछानेले चाँडै क्षमायाचना गर्नुपर्छ ।’

महासंघका सल्लाहकार एवं निवर्तमान अध्यक्ष गोविन्द आचार्यले संविधानले ग्यारेन्टी गरेको प्रेस स्वतन्त्रताको खिलापमा बोल्नु गैरसंवैधानिक कार्य भएकाले उनीमाथि कानुनी कारबाही हुनुपर्ने बताएका छन् । ‘देशको चौथो ठूलो दलको सभापति भए पनि अब उनले दलको नेतृत्व गर्न र मन्त्री बन्न लायक हैसियत गुमाएका छन्,’ आचार्यले भने ।

महासंघका अध्यक्ष विपुल पोखरेलले विगतमा विधि र सुशासनको पक्षमा चर्को बोल्ने लामिछानेले सत्ताबाट बाहिरिनुपर्दाको आक्रोश नेपाली मिडियामाथि पोख्नु विडम्बना भएको बताए । ‘यसबाट उनको अनुहार उदांगो भएको छ, नेपाली सञ्चार जगत्ले जति निन्दा गरे पनि पुग्दैन,’ पोखरेलले भने । महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चार क्षेत्रमा रहँदा गलत प्रवृत्तिका रूपमा हावी भएका लामिछानेले राजनीतिमा प्रवेश गरेपछि पनि त्यस्तै प्रवृत्ति देखाएको बताए । ‘उनको व्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको खिलाफमा मात्र छैन, लोकतन्त्र, मानवअधिकार र विधिको शासनविरुद्ध पनि छ,’ उनले भने ।

नेपाल प्रेस युनियनले प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना कमजोरी ढाकछोप गर्न सञ्चारमाध्यम, सञ्चारकर्मी र समग्र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने उद्देश्यले प्रमाणहीन आरोप लगाएको जनाएको छ । ‘नेपाली पत्रकारिता क्षेत्रले मुलुकमा भएका ठूला–ठूला भ्रष्टाचार, अनियमितता र बेथितिका घटना बाहिर ल्याएर सुशासन र नागरिक अधिकारको पक्षमा निरन्तर काम गर्दै आएको छ, पूर्वसञ्चारकर्मी लामिछानेले कुनै आधार र प्रमाणबिना सञ्चारमाध्यम, सम्पादक र समग्र पत्रकारितालाई बदनाम गर्ने गरी दिएका अभिव्यक्ति खेदजन्य छन्,’ महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा छ, ‘आमनागरिकबाट जनमत प्राप्त गरेका राजनीतिकर्मीले दिएका अभिव्यक्ति अपरिपक्व र अराजनीतिक छन् ।’

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले पनि विज्ञप्ति जारी गर्दै लामिछानेले सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा दिएको धम्कीप्रति खेद प्रकट गरेको छ ।

संविधानविद् विपिन अधिकारीले लामिछानेबाट मानवअधिकार, कानुनी शासन, सार्वजनिक चासो, जवाफदेहिता र आमनागरिकका सरोकारका विषयमा अपेक्षा राखेको भए पनि उनले आफूमाथि उठेका प्रश्नलाई मात्र ‘पर्सनलाइज’ गरेको बताए । ‘उहाँको वैकल्पिक राजनीतिक शक्तिको आत्मबल, सिद्धान्त र निष्ठा के हो, त्यो भन्नुपर्थ्यो, त्यसबारे केही भन्न सक्नुभएन,’ उनले भने, ‘सार्वजनिक पदाधिकारीका रूपमा मिडियालाई हेर्ने दृष्टिकोण पनि सही भएन । बारम्बार आफ्नाविरुद्ध लेखे भन्ने गुनासो गर्नुभयो, बारम्बार प्रश्न गर्ने त मिडियाको काम नै हो ।’

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले लामिछानेको अभिव्यक्तिलाई लोकतन्त्रमाथि आक्रमणको संज्ञा दिए । ‘अदालत र प्रेस दुवै लोकतन्त्रका आधार स्तम्भ हुन्, यी निकायमाथिको आक्रमण लोकतन्त्रमाथिकै आक्रमण हो,’ उनले भने, ‘जब शक्तिमा रहेका व्यक्तिहरूमाथि प्रश्न उठ्छन्, उनीहरू अदालत र प्रेसप्रति खनिन्छन् । लामिछानेले पनि त्यही गरेका हुन् ।’ अधिवक्ता राजुप्रसाद चापागाईंले लामिछानेको प्रस्तुति टिप्पणी गर्न लायक नभएको बताए । ‘सामान्य राजनीतिक र प्रजातान्त्रिक संस्कार देखिँदैन, राजनीतिक परिपक्वता पनि छैन,’ उनले भने ।

नागरिक समाजका अगुवा श्याम श्रेष्ठले विगतमा नेताहरूलाई पदलोलुप भनेर औंला ठड्याउँदै आएका लामिछानेले अहिले त्यही प्रवृत्ति देखाएको बताए । ‘आखिर बोली र व्यवहारमा फरक हुँदोरहेछ, उहाँले पनि पदलाई नै सबै चिज ठान्नुभयो,’ उनले भने, ‘छोटो समयको घटनाक्रमले लामिछानेलाई पदलोलुप देखायो ।’ लेखक नारायण वाग्लेले मिडिया घेर्न आउँछु भनेर लामिछानेले प्रेसमाथि धम्की दिएको बताए । ‘मेराविरुद्ध लेखे भने म शुभचिन्तकहरू लिएर मिडिया घेर्न आउँछु भनेर धम्की दिए,’ उनले भने, ‘तर शुभचिन्तकहरूले कहिलेसम्म शुभचिन्ता गरिरहने होलान् ?’

लामिछानेका अभिव्यक्तिको राजनीतिक दलका नेताहरूले पनि आलोचना गरेका छन् । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले लामिछानेको स्वभाव कसै न कसैलाई गाली गरेर बस्ने खालको भएको बताए । ‘आफू पत्रकार हुँदा सरकार र सत्तालाई गाली गर्नुभयो, अहिले आफैं सत्तामा पुगेपछि पत्रकारलाई गाली गर्नुभयो,’ उनले भने, ‘चरित्रअनुसारको काम गरिरहनुभएको छ ।’

एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मानिसको फरक–फरक अनुभव भए पनि नेताहरूको अभिव्यक्ति संयमित हुनुपर्ने बताए । ‘आफ्नो बुझाइ तथा आफ्ना भोगाइहरू हुन्छन्, त्यसमा सार्वजनिक रूपमा राजनीतिक दल तथा तिनका नेताहरूले अभिव्यक्ति दिँदा संयमित रूपमा दिनुपर्छ,’ उनले भने । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x