४ आश्विन २०८३, आईतवार

प्रेस युनियन बाकेद्वारा ध्यानाकर्षण पत्र

एसीपी संवाददाता

१३ जेष्ठ २०७८, बिहीबार १०:५१ मा प्रकाशित

नेपालगन्ज, जेठ १३-
पत्रकार तथा सञ्चारकर्मीका लागि विभिन्न माग राख्दै नेपाल प्रेस युनियन बाँकेले बिहीबार ‘जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र’ बाँकेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । केन्द्रका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले उक्त पत्र बुझाएका हुन् ।
प्रेस युनियनको ३१ औं स्थापना दिवसको सन्दर्भ पारेर बुझाइएको ध्यानाकर्षण पत्रमा पिसिआर परिक्षणको कामलाई छिटो, छरितो र सहज बनाउनुका साथै बाँकेका पत्रकार तथा सञ्चारकर्मीका लागि निःशुल्क रूपमा पिसिआर परिक्षण गरिदिनुपर्ने र कोरोनाबाट संक्रमित भएका पत्रकार तथा सञ्चारकर्मीको निःशुल्क रुपमा औषधी उपचारको ब्यवस्था मिलाउन माग गरिएको छ । ‘रिपोर्टिङमा खटिने पत्रकार तथा सञ्चारकर्मीलाई कोरोना संक्रमणको पुर्वसावधानीका लागि पनि पिसिआर परिक्षण महत्वपुर्ण पक्ष हो, पिसिआर परिक्षण रिपोर्ट ढिलो आउँदा ब्यक्तिमा अन्यौलता छाउने र त्यो बेलामा यदी पोजेटिभ भएको भए अन्यलाई पनि संक्रमण फैलिन सक्ने जोखिम हुन्छ,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
जटिल र कठिन परिस्थितीमा पनि उच्च जोखिम मोलेर बाँकेका पत्रकार तथा सञ्चारकर्मीले आफ्नो पेशागत दायित्व निभाईरहेका र कोरोना संक्रमणको अवस्था यथावत नै रहेकाले रिपोर्टिङमा खटिने पत्रकारहरु असुरक्षित रहेको युनियनले जनाएको छ । युनियनको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नयाँ भेरियन्टसहित दोस्रो चरणमा फैलिएको कोरोना भाईरस(कोभिड–१९)महामारी अझै नियन्त्रण बाहिर रहेको र कोरोना महामारीको ‘हटस्पट’ का रुपमा चिनिएको बाँकेमा पहिलेको तुलनामा संक्रमण दर केही घट्दो अवस्था भएपनि दैनिकजसो संक्रमितको मृत्यु भने भइरहेको छ, अस्पतालमा संक्रमितको चाप थोरै मात्र घटेको छ, महामारी नियन्त्रण गर्नकै लागि जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञाको समय थप गरिरहेको छ ।’
फ्रन्टलाईनमा रहेर समाचारका माध्यमबाट जनतालाई सु–सुचित गरिरहेका पत्रकार तथा सञ्चारकर्मीका लागि सरकारले कुनैपनि राहत प्याकेज÷कार्यक्रम नल्याउँदा अत्यन्त दुःखी एवम् स्तब्ध भएको प्रेस युनियनले जनाएको छ । कोरोना संक्रमणबाट बाँकेस्थित खबर नेपालगन्ज डटकमका सम्पादक तथा प्रकाशक रईस साईको केहीदिन अघि दुःखद निधन भएको, कोरोना संक्रमणबाट अहिलेसम्म बाँकेका २७ जना पत्रकार तथा सञ्चारकर्मीहरु संक्रमित भइसकेको र संक्रमित मध्ये धेरै जना निको भएपनि केहीले होमआइसोलेसनमा बसेर स्वास्थ्यलाभ गरिरहेको युनियनले जनाएको छ ।
पत्र बुझाईसकेपछि युनियनका अध्यक्ष ओलीले जिल्लाका समग्र पत्रकारको गुनासा र सुझाव अनुसार ध्यानाकर्षण पत्र बुझाइएको भन्दै प्रेस युनियनले उठाएका मागलाई सम्बोधन गर्न आग्रह गरे । कोरोना महामारीमा फ्रन्टलाईनमा उभिएर काम गर्ने पत्रकारका लागि राहत कार्यक्रम तथा प्याकेज ल्याउन उनले सरकारलाई अनुरोध गरे । सो क्रममा प्रजिअ गेलालले माग सम्बोधनका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाएका थिए । ध्यानाकर्षण पत्र बुझाउने क्रममा युनियनका जिल्ला सचिव विजय मल्ल, कोषाध्यक्ष मधु पौडेल, कार्यसमिति सदस्यद्धय नन्दलाल साहु र लक्ष्मी शर्माको पनि उपस्थिती रहेको थियो ।
फोटो क्याप्सन ः
‘जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र’ बाँकेका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ध्यानाकर्षण पत्र बुझाउँदै युनियनका अध्यक्ष अर्जुन ओली ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x