२१ कार्तिक २०८३, शुक्रबार

फिल्मक्षेत्रमा स्थापित

एसीपी संवाददाता

२ चैत्र २०७७, सोमबार ०३:५५ मा प्रकाशित

फिल्मक्षेत्रमा स्थापित भइसकेकी एक अभिनेत्रीले एउटा म्युजिक भिडियो खेल्दा १ लाख पारिश्रमिक लिने गर्छिन् । दिनेले दिन्छन्, लिनेले लिन्छन् । यसमा प्रश्नै भएन ।

तर, ती अभिनेत्रीले एक फिल्मका लागि म्युजिक भिडियोमा पाउनेसरहको पारिश्रमिक मागिन् । फिल्ममा उनको मुख्य भूमिका पनि थिएन । अतिथि भूमिकामा उनले जम्मा २ दिन छायांकनका लागि समय दिनुपर्ने थियो । उनले निर्मातालाई भनिन्, ‘मैले म्युजिक भिडियोमा दिनको १ लाख लिन्छु । यहाँ दुई दिन छायांकन हुने रै’छ । मलाई २ लाख चाहिन्छ ।’

उनकाे माग सुनेर निर्माता ट्वाँ परे । र पनि निर्देशकले उनैलाई भूमिका सुहाउने भनेपछि निर्माताले बाध्य भएर एक दिनको ८० हजार टक्र्याए । दुई दिनको १ लाख ६० हजार ।

‘कोरोनाले थला परेको फिल्मक्षेत्रलाई सबै मिलेर उठाउनुपर्ने अवस्थामा उहाँले माग्नुभएको पारिश्रमिक शाेभनीय भएन’, निर्माता गुनासो पोख्छन् ।

अहिले म्युजिक भिडियोमा कलाकारको पारिश्रमिक निकै चर्किएको छ । नाम चलेका कलाकारले १ लाख ५० हजारसम्म पारिश्रमिक लिने गरेको हल्ला सुनिन्छ । तर, सत्यता के हो दिने वा लिनेलाई नै थाहा होला । न उनीहरूले कुनै सम्झौता गरेर काम गरेका हुन्छन्, न कर नै तिर्छन् । कसरी थाहा होस् त उनीहरूले लिएको पारिश्रमिक ?

तर, म्युजिक भिडियोमा लिएको सरह पारिश्रमिक फिल्ममा पनि माग्दा फिल्मका निर्माताहरू मारमा पर्छन् ।

फिल्म निर्देशक दीपेन्द्र लामा म्युजिक भिडियोमा लिइने पारिश्रमिक र फिल्ममा लिइने पारिश्रमिकबीच कुनै तुलना नहुने बताउँछन् । उनी भन्छन्, ‘म्युजिक भिडियोमा पाउने पारिश्रमिकजस्तै फिल्ममा खोजेर हुन्न । विज्ञापन दुई दिन खिचेको कलाकारले २५ लाख रुपैयाँसम्म लिन थाल्छन् । अब के फिल्ममा त्यहीअनुसारको पारिश्रमिक मागेर हुन्छ त ?’

म्युजिक भिडियोमा वा विज्ञापनमा पाएको जस्तै पारिश्रमिक फिल्मबाट पनि माग्नु कलाकारको वैज्ञानिक तर्क नरहेको दीपेन्द्रको बुझाइ छ । बुझेका कलाकारले भने फिल्ममा म्युजिक भिडियोमा जस्तो पैसा नमाग्ने दीपेन्द्र बताउँछन् ।

उनी भन्छन्, ‘दयाहाङ राईले पनि त म्युजिक भिडियो खेलेका छन् । तर, उनले त म्युजिक भिडियोमा यति लिएको छु । फिल्ममा पनि सोहीअनुसार देऊ भनेको सुन्नमा आएको छैन । भिडियो र फिल्मको पारिश्रमिक भनेको अलग कुरा हो नि ।’

म्युजिक भिडियो क्षणिक हुने तर फिल्म दीर्घकालीन हुने भएकाले पनि कलाकारले त्यसलाई बुझेर पारिश्रमिक लिनुपर्ने दीपेन्द्र सुझाउँछन् । उनले थपे, ‘केही समयअगाडि चकाचक भिडियो गरिरहेका मोडलहरू अहिले कता छन् ? खोज्नुपर्छ । तर, फिल्मका कलाकार भने त्यसरी हराउँदैनन् । निर्माताले सोहीअनुसारको खर्च गरेर उनीहरूको पब्लिसिटी गरेको हुन्छ । त्यो कुरा कलाकारले बुझ्न जरुरी हुन्छ ।’

दीपेन्द्रका अनुसार कतिपय कलाकारले त पैसाकै लागि मात्र फिल्ममा काम गर्ने सोच राख्ने भएकाले पनि बढी पैसा माग्ने गर्छन् । तर, उनीहरूले फिल्ममा काम गरेपछिको महत्त्वलाई चिन्न जरुरी रहेको दीपेन्द्रको भनाइ छ ।

फिल्म निर्देशक नवल नेपाल म्युजिक भिडियोमा चर्किएको पारिश्रमिकले फिल्म क्षेत्रमा प्रत्यक्ष असर परेको गुनासो गर्छन् । म्युजिक भिडियोमा पाएजस्तै पारिश्रमिक फिल्मबाट माग्नु आराजकता र बेथिति भएको उनको भनाइ छ ।

नवल भन्छन्, ‘एउटा भिडियो गरेको नै १ लाख, डेढ लाख लिनु आफैँमा गलत छ । यसले सिधै चलचित्र क्षेत्रलाई असर पुर्‍याइरहेको छ । भिडियोमा लिएको पारिश्रमिकलाई आधार मानेर कलाकारले फिल्ममा पारिश्रमिक माग्न थालेका छन् । त्यो विल्कुलै आराजकता र बेथिति हो ।’

म्युजिक भिडियोका कारण फिल्मका लागि पनि कलाकार पाउन मुस्किल भएको निर्देशक नेपालको गुनासो छ । उनी भन्छन्, ‘केही सीमित कलाकार जो रिजर्भ बसे, उनीहरू दुई वर्षका लागि प्याक भइसके । अरु त फिल्ममा काम गर्न मन गर्ने कलाकार नै छैनन् ।’

निर्माता, वितरक र प्रदर्शकको कुरा सुनेर फिल्म बनाउने हो भने अहिलेको समयमा फिल्म नै नबन्ने नवल बताउँछन् । ‘माथिल्लो लेयरका बिजी छन्, दोस्रो लेयरका कलाकार भिडियो गरिरहेका छन्’, नवल भन्छन्, ‘दोस्रो लेयरका कलाकारहरूले दिनमा १ लाख कमाइन्छ भने किन फिल्ममा दुःख गर्नु भन्ने सोच राख्न थालेका छन् । उनीहरूले काम गरे पनि मन लगाएर काम गर्दैनन् ।’

म्युजिक भिडियो क्षेत्रले नै असर नगरेको भए पनि केही भिडियो निर्माताहरू जसले कलाकारलाई भनेजस्तै पैसा दियो, भनेजस्तै सेवा-सुविधा दियो, त्यसको असर फिल्ममा परेको नवलको भनाइ छ ।

उनी थप्छन्, ‘भिडियोमा पाएको जस्तो सेवा-सुविधा कलाकारले फिल्ममा पाउँदैनन् । दुःख पनि बढी हुन्छ । समय पनि बढी हुन्छ । अनि उनीहरूले धेरै समय खर्चिएर, दुःख गरेर किन थोरै पैसामा काम गर्ने इच्छा गर्थे त ? यथार्थ त यो हो नि ।’

यता म्युजिक भिडियो तथा फिल्म निर्देशन गरिसकेका निर्देशक सुव्रतराज आचार्य म्युजिक भिडियोका कारण फिल्मको पारिश्रमिकमा असर परेको कुरालाई स्वीकार्छन् ।

उनी भन्छन्, ‘५ लाखमा म्युजिक भिडियो बनाइँदै छ भने कलाकारलाई डेढ लाखसम्म पारिश्रमिक छुट्याइएको हुन्छ । ठूलो रकम लिन बानी परेका कलाकारले फिल्ममा पनि मागिहाल्छन् नि ।’

एउटा भिडियोको एकतिहाइ बजेट कलाकारका लागि छुट्याइन्छ । म्युजिक भिडियोमा एकतिहाइ पाएका कलाकारलाई फिल्ममा पनि बाध्य परेर एकतिहाइ लगानी दिनुपर्ने बाध्यता रहेको सुव्रतको भनाइ छ । उनी भन्छन्, ‘लगानी बचोस्/नबचोस् थाहा भएन । तर, एकतिहाइ लगानी कलाकारमाथि नै भइरहेको त छ नि ।’

सुव्रत कलाकारले अहिले पारिश्रमिक बढाउनेभन्दा पनि आफ्नो बजार बढाउनुपर्ने कुरामा जोड दिन्छन् । आफ्नो सीमित सर्कलमा रहेर आफूलाई स्टार ठान्ने प्रवृत्तिबाट कलाकार बाहिर आउनुपर्ने उनको भनाइ छ ।

‘हाम्रा कलाकारलाई आफू कति पपुलर छु भन्ने पनि पत्तो हुन्न । केही सीमित फ्यानबाट मिलेको प्रतिक्रियाले उनीहरू दंग परेका हुन्छन्’, सुव्रत भन्छन्, ‘त्यही सीमित फ्यानलाई आधार मानेर पैसा बढाउने हैन नि । उनीहरूले आफूलाई १ करोड दर्शकसम्म कसरी पुर्‍याउने भन्ने सोच्नुपर्छ ।’शिलापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x