बर्दियाका तीन पालिकाका सात विद्यालयमा प्रारम्भिक बालविकास कक्षा कोठा व्यवस्थापनका लागी सामग्री हस्तान्तरण
बर्दिया असार ११ गते – बाँके युनेस्को क्लबद्वारा बर्दियाका तीन पालिकाका सात विद्यालयमा प्रारम्भिक बालविकास कक्षा कोठा व्यवस्थापनका लागी सामग्री हस्तान्तरण । 
प्रारम्भिक बालविकास (ईसीडी) सामग्री बर्दिया जिल्लाका सात विद्यालयहरूमा हस्तान्तरण गरिएको छ। बालबालिकाका लागि गुणस्तरीय सिकाइ वातावरण प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो पहल बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा ‘गर्ल्स स्ट्यान्डिङ स्ट्रङ (GSS)’ परियोजनाअन्तर्गत सञ्चालन गरिएको हो। 
सामग्रीहरू बाँके युनेस्को क्लबका उपनिर्देशक तथा ‘गर्ल्स स्ट्यान्डिङ स्ट्रङ’ परियोजनाका कार्यक्रम संयोजक श्री गोविन्द प्रसाद लमिछानेद्वारा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। उहाँले यो पहलको प्रमुख उद्देश्य सबैको पहुँचमा प्रविधिमा आधारित समावेशी सिकाइ वातावरण विस्तार गर्नु रहेको बताउनुभयो। साथै, बालविकास सुदृढ गर्न यस्ता नवप्रवर्तनात्मक प्रयासहरू अत्यन्त महत्वपूर्ण रहेकोमा पनि उहाँले जोड दिनुभयो।
हस्तान्तरण गरिएका ईसीडी सामग्रीहरूमा स्मार्ट टेलिभिजन, खेलकुद सामग्रीहरू, शैक्षिक चार्टहरू, पुस्तक राख्ने र्याक, जुता ऱ्याक , क्यारेमवोंड, विभिन्न आर्टका चित्रहरु, अक्षर, फर्निचर, कार्पेट र तकिया (डाकिया) समावेश छन्। यी सामग्रीहरूले बालमैत्री सिकाइ वातावरण निर्माण गर्न र प्रारम्भिक बालविकास सुदृढ गर्न सहयोग पुर्याउने लक्ष्य राखिएको छ। प्रत्येक विद्यालयलाई रू. १,७७,५०६ बराबरको सामग्री प्रदान गरिएको हो।
बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्धिकीले समाग्री प्रदान गरिएका प्रत्येक विद्यालयमा सामग्रीको प्रभावकारी प्रयोग सुनिश्चित गर्न सुरक्षित कक्षा कोठा व्यवस्थापन गरी बालवालिका विद्यालय आउने वातावरण सृजना गर्नका लागि बाल विकासका समाग्रीको सहयोग गरिएको बताउनुभयो। साथै, विद्यालयहरूले सामग्रीको दीगो प्रयोग, नियमित मर्मत तथा प्रयोग सम्बन्धी सिकाइ मूल्याङ्कनको जिम्मेवारी लिने कुरामा पनि उहाँले स्पष्ट गर्नुभयो। 
त्रिशक्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपेश गुप्ताले बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालप्रति आभार व्यक्त गर्दै उक्त सामग्रीहरूले कक्षा व्यवस्थापनमा सहजता ल्याउने र विद्यार्थीको सिकाइ उपलब्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले शिक्षक, अभिभावक र विद्यार्थीबीच सहकार्यमार्फत सिकाइ वातावरण अझ सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा सहभागी सबै विद्यालयहरूले शैक्षिक रूपले समृद्ध वातावरण निर्माणमा सहयोग पुर्याएकोमा परियोजना टिमप्रति आभार व्यक्त गरेका थिए। 
बर्दियाका निम्न ७ विद्यालयहरूमा सामग्री वितरण गरिएको हो:
बढैयाताल गाउँपालिका अन्तरगत मुक्त कमैया आधारभूत विद्यालय – वडा नं. ९, जनता नगर
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय – वडा नं. ७, पडरिया लाई उपलब्ध गराईएको छ भने गुलरिया नगरपालिका गौरीशंकर माध्यमिक विद्यालय – वडा नं. ११, डल्लापुर, जानकी माध्यमिक विद्यालय – वडा नं. ३, सिर्खैया, त्रिशक्ति माध्यमिक विद्यालय – वडा नं. १, कमलपुर, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय – वडा नं. १२, भैसाही र नेपाल राष्ट्रिय सम्भूशरण माध्यमिक विद्यालय – वडा नं. १, खैरेपुर लाई उपलब्ध गराईएको छ ।


