काँग्रेस बाँके प्रशिक्षण शाखाद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बाँकेका ८ वटै पालिकाका सभापति र ८१ वटा वडाका सभापतिहरुलाई प्रशिक्षण दिइएको प्रशिक्षण शाखाका सचिव उमा थापा मगरले बताइन् ।
प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै नेपाली काँग्रेस लुम्विनी प्रदेश उपसभापति एवम् प्रशिक्षण विभागका प्रमुख भुवनप्रसाद श्रेष्ठले कार्यकर्ताहरुको वैचारिक धार चम्काउनका लागि पार्टी प्रशिक्षण आवश्यक भएको बताए । उनले पार्टीको प्रशिक्षण विभागले प्रदेशभरिका पार्टीको विभिन्न संरचना माताहतका कार्यक्रताहरुलाई प्रशिक्षित गरी दक्ष कार्यकर्ता तयार गर्ने भन्दै संगठनको सिद्धान्त, विचार नीतिका बारेमा हरेक कार्यकर्तालाई जानकारी हुनुपर्नेमा जोड दिए ।

काँग्रेस बाँके सभापति नारायणप्रसाद गौडेलले पार्टी प्रशिक्षण कार्यक्रमलाई जिल्लाव्यापीरुपमा विस्तार गर्ने भन्दै अहिले वडा र गाउँपालिका नेतृत्व तहबाट प्रशिक्षण कार्यक्रम शुरु गरिएको बताए । उनले पार्टीको आधारभूत जानकारीसंगै स्थानीय वडास्तरमा सम्वन्ध विस्तार र समन्वयकारी भूमिका लगायतका बारेमा प्रशिक्षण गर्न जरुरी रहेको बताए ।
काँग्रेस बाँके उपसभापति एवम् जिल्ला प्रशिक्षण शाखा प्रमुख गोपालप्रसाद अधिकारीले दक्ष कार्यकर्ता उत्पादन र जागरुकता प्रदान गर्न प्रशिक्षण आवश्यक भएको भन्दै जिल्लास्तरका सबै कार्यकर्ताहरुलाई प्याकेजमा प्रशिक्षण दिने योजना रहेको बताए ।

उनका अनुसार पार्टीका विभिन्न संरचनामा नेतृत्व गरिरहेका पदाधिकारीलाई प्रशिक्षित गरी विभिन्न निकायसंगको समन्वयकारी भूमिकालाई अझ बढी प्रभावकारी बनाइनेछ ।
संगठनको सिद्धान्त, संरचना, पालिका तथा वडा सभापतिहरुको काम कर्तव्य अधिकार, कार्यकर्ताको व्यवहार तथा आचरण, पार्टीको सञ्चालन, प्रक्रिया, योजना निर्माण, बैठक सञ्चालन, सभा समारोहमा गरिने भाषण तथा भूमिका लगायतका विषयमा प्रशिक्षण दिइएको छ ।
प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक तीर्थ पौडेल, प्रशिक्षण विभागका प्रमुख श्रेष्ठ, प्राध्यापक अशोक श्रेष्ठ, वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, पत्रकार राकेशकुमार मिश्र, अधिवक्ता कपिलदेव शर्मा, नेपाल तरुण दलका पूर्व महासचिव हुर्मत न्यौपाने, प्रशिक्षण शाखा सचिव थापा मगर, कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरीले सहजीकरण गरेका थिए ।