बाँकेबाट भोजराजले दिए एन्फा केन्द्रीय सदस्यमा उम्मेदवारी
नेपालगन्ज, ७ जेठ
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले आसन्न अखिल नेपाल फुटबल संघ(
एन्फा)को निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन । उनले शुक्रबार सातदोबाटो
स्थित एन्फा कम्प्लेक्समा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन । शुक्रबार एन्फाको
अध्यक्षका लागि पंकज विक्रम नेम्वाड सहित ५ जनाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी
दिएका छन ।
पश्चिम क्षेत्रको फुटबल विकासमा नेतृत्वदायी भुमिका खेलेका बाँके अध्यक्ष शाहीले विगत २५
वर्ष देखी बाँके जिल्ला फुटबल संघको विभिन्न पदमा रहेर काम गरेका छन । बाँके जिल्ला
फुटबल संघमा सदस्यको रुपमा काम गरेका शाहीले दुइ कार्यकाल महासचिव र तेस्रो कार्यकालका
लागि अध्यक्ष भएर नेतृत्व गरिरहेका छन ।
बाँके जिल्लामा सुरुआतमा उनले ओशोनिक क्लब मार्फत ग्रासरुट कार्यक्रम संचालन गरेका थिए
। जसले बाँकेमा आधा दर्जन खेलाडीलाई नेपाली महिला टोलीसम्म पुग्न सहयोग गरेको
थियो । नेपालगन्जमा फुटबलका भौतिक पुर्वाधार, एन्फा ग्रास रुट फुटबल मैदान निर्माण,
नेपालगन्ज गोल्ड फुटबलको सुरुआतमा उनको नेतृत्वमा भएको थियो ।
पश्चिम क्षेत्रमा फुटबलको विकासमा शाहीलाई कुशल नेतृत्वका रुपमा चिनिन्छ । नेपाली
फुटबललाई अनुशासित रुपमा गतिशिलता प्रदान गर्न आफुले उम्मेदवारी दिएको अध्यक्ष
शाहीले बताए । उनले भने,‘ समाज परिवर्तन गर्न, देशको प्रतिष्ठा बढाउन फुटबलले महत्वपुर्ण
भुमिका खेलेको हुन्छ । तर पश्चिम नेपालमा हामीले सोचेजस्तो विकास गर्न सकेको छैनौं । थुप्रै
समस्या र चुनौति छन हामीसँग । हामीले राम्रो गरेको जिल्ला र क्लबको अनुभवबाट सिक्दैं
पश्चिम क्षेत्र फुटबलको विकास गर्न जरुरी छ ।’
क्याप्सनः उम्मेदवारी दर्ता गराउँदै भोजराज शाही (दायाँबाट तेस्रो) ।


