बोलीका कारण सधैं चर्चामा राखी सावन्त
भारतीय चलचित्र उद्योगमा ‘कन्ट्रोभर्सी क्विन’का नामले चर्चित राखी सावन्त विभिन्न क्रियाकलाप र बोलीका कारण सधैं चर्चामा रहँदै आएकी छन् । उनी हरेक विषयमा विवादित बयान दिन्छिन् र चर्चा कमाउँछिन् । उनले बलिउडका विभिन्न कलाकारदेखि भारतीय राजनीतिका विभिन्न व्यक्तिहरूका बारेमा पनि समयसमयमा विवादास्पद टिप्पणी गर्दै आइरहेकी छन् ।
पछिल्लो समय भारत कोरोना भाइरसका कारण समस्यामा परेको छ । दैनिक लाखौं मानिस संक्रमित भइरहेका छन् भने मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । यस्तो आपत्को समयलाई पनि राखीले आफ्नो प्रचारको साधन बनाउन भने पछि परेकी छैनन् ।
हालै उनी रामदेव बाबाका विषयमा दिएको बयानका कारण विवादमा तानिएकी छन् । उनले रामदेवलाई कोरोनासँग तुलना गरेकी छन् ।
भारतीय सञ्चारमाध्यमसँग संक्षिप्त कुरा गर्दै राखीले रामदेवको तुलना कोरोनासँग गरेकी हुन् । ‘कोरोना भाइरस पनि रामदेव बाबाजस्तै छ’, उनले भनेकी छन्, ‘कहिले आउँछ, कहिले हराउँछ र कहिले बाहिर निस्किन्छ ।’ राखीले रामदेवका बारेमा बोलेको विवादास्पद भिडियो सामाजिक सञ्जालमा पनि सेयर गरेकी छन् ।


