२ श्रावण २०८३, शनिबार

भारतबाट कोरोनाका लागि उपयोगी रेमडेसिभिर आयात

एसीपी संवाददाता

१७ कार्तिक २०७७, सोमबार ०५:१८ मा प्रकाशित

कोरोना संक्रमितको उपचारमा उपयोगी मानिएको औषधि ‘रेमडेसिभिर’ ६ हजार भाइल वीरगन्ज भन्सार नाकाबाट आयात भएको छ ।

तस्बिर : रोयटर्स

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत विमल साहका अनुसार यो नाकाबाट हालसम्म भारतमा निर्मित ६ हजार भाइल रेमडेसिभिर आयात भइसकेको छ । ‘निजी क्षेत्रका तीन आयातकर्ताले आवश्यक प्रक्रिया पूरा गरी तीन वटा कन्साइन्मेन्टमा रेमडेसिभिर औषधि भारतबाट आयात गरेका हुन्,’ उनले भने, ‘यसको आयात गर्दा ५ प्रतिशत भन्सारबाहेक अन्य शुल्क लाग्दैन ।’

नारायणी अस्पतालका डा. उदयनारायण सिंहले विश्वमै हालसम्म कोरोना संक्रमितको उपचारमा सर्वाधिक प्रभावकारी मानिएको र प्रयोग गरिएको एक मात्र औषधि रेमडेसिभिर रहेको दाबी गरे । ‘भारत, बंगलादेश र अमेरिकाजस्ता मुलुकले ठूलो परिमाणमा यो औषधि उत्पादन गरिरहेका छन्,’ उनले भने, ‘निमोनियाका गम्भीर खालका बिरामीलाई यो औषधि उपयोगी छ । हामीले पनि कोरोना संक्रमित बिरामीको उपचारमा यो औषधि प्रयोग गरेका हौं ।’ सुरुमा इबोला भाइरस संक्रमित बिरामीको उपचारमा उपयोगी सावित यो औषधि हाल कोरोना संक्रमितको उपचारमा पनि उपयोगी भइरहेको उनले बताए ।

कोरोना महामारी फैलिएपछि अमेरिकाले समेत भारतबाट ठूलो परिमाणमा यो औषधि आयात गरेको थियो । ‘अमेरिकामा गरिएको शोधले कोरोना संक्रमितको उपचारमा यो औषधि अत्यन्त प्रभावकारी पाइयो,’ उनले भने, ‘तर विश्व स्वास्थ्य संगठनले अझै पनि यो औषधिलाई कोरोना संक्रमितको उपचारमा पूर्ण प्रभावकारी रहेको स्विकारेको छैन, उसले यो औषधिलाई संक्रमितको उपचारमा आंशिक मात्र प्रभावकारी रहेको र यसले मृत्युदर घटाउने दाबी गर्दै आएको छ ।’

कोरोनाविरुद्धको खोप आइनसकेको र उपचारमा उपयोगी विशेष औषधि उत्पादनसमेत नभएको अवस्थामा रेमडेसिभिरले लामो समय भरथेग गर्ने अनुमान डा. सिंहको छ । साभार इकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x