१७ श्रावण २०८३, आईतवार

भारतबाट दूध आयात खोल्न सिफारिस

एसीपी संवाददाता

२२ बैशाख २०८०, शुक्रबार ०७:३३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले दैनिक एक लाख २० हजार लिटर भारतबाट आयात गर्न सिफारिस गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई बोर्डले बुझाएको प्रतिवेदन मागअनुसार दूध आपूर्ति हुन नसकेकाले ३ महिनाका लागि दैनिक १ लाख लिटरभन्दा बढी दूधको आयात खोल्न सुझाव दिइएको छ । गत कात्तिकमा पनि दूध अभाव भएपछि यसैगरी दैनिक परिमाणत्मक बन्देजसहित आयात खोलिएको थियो ।

उपकार्यकारी निर्देशक बालक चौधरीका अनुसार सरोकारवालासँग छलफलमा आधारित भएर बोर्डले यस्तो निचोड निकालेको हो । मन्त्रालयमा डेरी उद्योगहरुले भारतबाट धुलो दूध, कच्चा दूध र बटर आयात गर्न माग गर्दै निवेदन दिएका थिए ।

मन्त्रालयले उद्योगीको मागबारे छलफल र अध्ययन गरेर सिफारिस प्रतिवेदन बनाउन बोर्डलाई भनेको थियो । बोर्डले धुलो दूधको उत्पादन नेपालभित्रै बढेकाले आयात गर्नुनपर्ने निष्कर्ष निकालेको उपकार्यकारी निर्देशक चौधरीले बताए ।

बोर्डले तयार पारेको प्रतिवेदन कृषि तथा पशुपन्छी विकासमन्त्री मन्त्री वेदुराम भुसाललाई बुझाइसकेको छ । अब मन्त्रालयले यसबारे थप छलफल गरेर दूध आयात खुलाउने/नखुलाउने निर्णय गर्नेछ ।

‘सिजनअनुसार नेपालमा दूधको माग घट्ने र बढ्ने भइरहन्छ,’ उपकार्यकारी निर्देशक चौधरीले भने, ‘अभाव चर्किएकाले दूध आयात गर्नुपर्ने उद्योगीहरुको मागमा तथ्यसहित छलफल गरेर कच्चा झोल दूध आयात खुला गर्नुपर्ने निचोड निकालिएको हो ।’

दुग्ध विकास संस्थान (डीडीसी), नेपाल डेरी एसोसिएसन, नेपाल डेरी उद्योग संघ भने तुरुन्तै दूधको आयात खुलाइहाल्नुपर्ने पक्ष्मा छन् । किसानहरुले भने ग्रामीण भेगसम्म पुगेर दूध संकलन गर्न नै उद्योगहरुले जाँगर नगर्दा यस्तो अवस्था आएको बताउँदै आएका छन् ।

पछिल्लो समयमा छुर्पी बनाएर निर्यात गर्ने क्रम बढेको, उपभोक्तामा दूधको उपयोगको दर बढेको र उत्पादन भने घटेर संकलन कमजोर भएको उनीहरुको दाबी छ । दूध आयात गर्न नदिएर बजारमा दूध तथा दुग्धजन्यपदार्थको अभाव बढ्ने उनीहरुको दाबी छ ।

बोर्डले साउन मसान्तसम्म आयात खुलाउन सकिने गरी सिफारिस गरेको छ । सरकारले उद्योगहरुको माग र बोर्डको सिफारिसअनुसार आयात खुला गरेमा नेपालको सीमा जोडिएका भारतीय क्षेत्रको दूध नेपाल भित्रिनेछ । अनलाइनखबर

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x