पहिलाे यिनीहरूलाई डर हुन्छ कि अहिलेसम्म हामीले रकम लिएर ज्ञान दियौं । आमव्यक्तिले त्यही ज्ञान निःशुल्क दिन थाले भने हाम्राे राेजीरोटी खोसिन्छ । अनि दोस्रो, जुन कुरा यिनले अहिलेसम्म लुकाएर राखे र अहिले पनि लुकाउन अनेक प्रयत्न गर्दै छन् । कसैले ती लुकाउन खोजिएका कुरा उजागर गर्न खोज्यो र उजागर गर्यो भने उसलाई पापी र शत्रुतापूर्ण व्यवहार गर्न थाल्छन् ।
केही मुस्लिम धार्मिक अगुवाहरू र तिनका आसेपासेहरूले समाजमा सकारात्मक रूपान्तरणका लागि बोल्ने र लेख्ने मुस्लिम महिलासँग रिस, डाहा गर्नुको एउटै कारण छ– यिनीहरूले महिलाको विषयमा बोल्दा अधिकांश नकारात्मक कुरा मात्र बोल्छन् । नकारात्मक रूपमा महिलालाई प्रस्तुत गर्दै भन्छन्, ‘एउटी खराब महिलाले आफूसँग चार पुरुष पिता, पति, पुत्र र भाइलाई नर्क लग्नेछिन् ।’
यही कुरालाई सकारात्मक रूपमा बोल्दा यो पनि भन्न सकिन्थ्याे कि ‘एउटी असल महिलाले चार जना पुरुष पिता, पति, पुत्र र भाइलाई स्वर्ग लग्नेछिन् ।’ मैले यही कुरा सच्याउनुहोला भनी आफ्नो लेखन कार्यमार्फत अवगत गराउँदा बहुत ठूलो ज्ञानी भइछे भन्छन् । इस्लाममा महिला अर्थात् आमाको पैतालामुनि स्वर्ग छ भन्ने मान्यता सर्वविदित छ ।
महिलाको महिमा बयान गर्न हिचकिचाउने, सत्य कुरा उजागर गरेकै कारण महिलालाई होच्याउने, तर्साउने, धम्क्याउने, इस्लामले महिलालाई दिएको महत्त्व, अधिकार र सम्मानबारे चर्चा नगर्ने ओलेमाहरूसँग मेराे सधैँ प्रश्न छ, जाे–जाे ओलेमाले एक महिलाले शरीयते इस्लामका बारेमा जानकारी गराउँदा अनेक टिकाटिप्पणी गर्छन् । अब महिलाले शरीयत सिकाउने रे, इस्लामबारे त्यसले सिकाउने जो अरुको ढोकामा जान्छे, जसलाई पवित्र-अपवित्र थाहा छैनजस्ता अनेक लान्छना लगाउँछन् । महिलालाई होच्याउने ओलेमाहरूलाई यो प्रश्न छ कि कुरआनपाकमा जहाँ ‘इकरा अर्थात् पढ’ भनी पढ्न लेखिएको छ । के त्यहाँ पुरुषलाई मात्रै सम्बोधन गरिएको छ त ?
अनि, हदीस शरीफ जहाँ यो लेखिएको छ– ‘तिमीमध्ये उत्कृष्ट व्यक्ति त्यो हो, जसले ज्ञान हासिल गर्छ र अरुलाई पनि त्यो ज्ञान सिकाउँछ ।’ सोध्नु यो छ- के त्यहाँ ज्ञान हासिल गर्ने कुरा पुरुषका लागि मात्र हो, महिलाका लागि होइन भनेकाे छ ?
लाग्छ, ओलेमाहरूले बोल्नुअघि पढ्दैनन् । सूक्ष्म अध्ययन गर्दैनन् । होइन् भने इस्लाममा महिलाको स्थान बुझ्नुपर्ने । अल्लाहको नजिककी एक बेनमाजी कसाई, जो मासु बेच्ने र आफ्नी अशक्त आमाको स्याहार गर्ने काम मात्र गर्थ्यो । उसको देखरेख र स्याहारबाट खुसी भई यदि उनकी आमाले हात उठाएर दुआ गर्छिन् भने उसको हस्र तत्कालीन पैगम्बर (वक्त के पैगम्बर) हजरत मूसा अलैहिस्सलामको साथ फर्माउँछ, त्यो रब्बे जुलजलालले । अनि प्रवचन गर्ने बेलामा स्टेज र मस्जिदको मिम्बरबाट अधिकांश ओलेमा भन्छन् कि, ‘महिला त नर्कवासी हो र उसले आफूसँगै चार पुरुषलाई पनि नर्क लग्छे रे ।’ यही हो त तरिका महिलाका बारेमा बोल्ने ? यदि ‘कसैले महिलाका बारेमा यही लेखिएको छ इस्लाम धर्मग्रन्थहरूमा’ भनेर साेध्याे भने ऊ उनीहरूकाे दृष्टिमा असाध्यै खराब हो । अनि साेसल मिडियामार्फत उसको चरित्रहत्या गरिन्छ । उसलाई धम्क्याइन्छ ।
शुक्रबारकाे एक दिन घरअगाडि रहेको मस्जिदको खुत्बा (प्रवचन) मा इमाम साहबले बडाे राम्ररी सुरुवात गरे । इमाम हुसैन अलैहिस्सलामको प्रशंसामा असआर पढे । तर बीचमै उनले कुरा मोडेर भन्न थाले कि फलानो यस्तो, ढिस्कानो उस्तो । फलानोले दीन (धर्मकाे मूल्यमान्यता) सिकाउँदै छ, जो आफैँलाई थाहा छैन । पुरुष मात्र होइन, महिलालेसमेत दीन सिकाउने रे, जो अर्काको ढोकामा जान्छिन्, जसलाई पवित्रता अपवित्रता थाहा छैन । अनि, आज त जो जति ठूलो हुसैनी ऊ त्यति ठूलो नसडी र जँड्याहा छ । अलिअलि हुसैनहुसैन यति गर्छन् कि कुनै हद छैन जबकि हरेक कुराको हद हुन्छ रे आदि इत्यादि ।
हाम्रो मुलुकमा पनि मुस्लिम महिलालाई समान अवसर, उच्च शिक्षा र हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिता गराउनुपर्छ । किनकि यिनले पनि उच्च शिक्षा हासिल गरी आफ्नो क्षमता, दक्षता र योग्यताअनुसार समाजमा सकारात्मक परिवर्तनका लागि विशेष योगदान पुर्याउन सक्छिन् ।
मस्जिदको मिम्बरमा बसेर इस्लामका बारेमा, महिलाका मुद्दा उजागर गर्नेलगायत समाजका अन्य समसायिक मुद्दामा लेख्ने महिलालाई होच्याउनु, तर्साउनु, धम्काउनु दीन हो वा शरीयत ? लेख्ने र यथार्थ उजागर गर्ने कारणले फेक आइडी बनाएर चरित्रहत्या गर्नु र गराउनु, धम्की दिनु र दिलाउनु इस्लाम हो ?
दीने इस्लाम भनेको कुनै धर्मगुरुले आफूले जति सिकेका छन्, उति नै सुनाउँछन्, के त्यति मात्र दीन हो त ? दीनको ठेकेदारीको टेन्डर कसले र कहिले धर्मगुरुलाई मात्र दियो ? धर्मगुरुबाहेक अरुले शरीयतका कुरा गर्नै हुन्न भनी कहाँ लेखिएको छ ? कहाँ लेखिएको छ कि महिलाले दीन र शरीयतका बारेमा लेख्न र बोल्न पाउँदैन ? यदि कुनै महिलाले आफूलाई मन नपर्ने विषयमा लेख्यो र बोल्यो भने उसको चरित्रहत्या गर्नु र गराउनु उलेमाको तुच्छता होइन त ? कहाँ लेखिएको छ कि यो दीने इस्लाम पुरुषहरुको पेवा हो ? अनि, धर्मगुरु मात्र दीनका ठेकेदार हुन् भने आले मुहम्मद सादादले सिकाउने दीन कुन दीन हो ? के हुसैनहुसैन र अलीअली गर्ने जम्मै नसेडी र जँड्याहा नै हुन्छन् ? वहाबी, देवबंदी, सुन्नी शिया भनी घृणा मात्र फैलाएर एकले अर्कोको शत्रु बनाउनु शरीयते इस्लाम हो ?
एकले अर्कालाई काफिर भन्नु दीन हो ? के आजका ओलेमाले इबादतको पनि हद, समय र दायरा तय गरेका छन् ? अबदेखि कसले मौला अली र मौला हुसैनलाई कति सम्झिने हो, यो ओलेमाले तय गर्नेछन् ? कसैले आफूले आस्था राख्ने आफ्नो इमामलाई खुसीसाथ सम्झिन पाउँदैनौँ ? जबकि मौला अली अलैहिस्सलामको अनुहार हेर्नु इबादत हो, सहाबाबाट साबित छ र मौला अलीको जिक्र गर्नु इबादत हो भनी पैगम्बरे इस्लाम हजरत मुहम्मद मुस्तफा सल्लल्लाहो अलैहे व आला आलेही वसल्लमको पवित्र वाणी हदीसमा लेखिएको छ ।
इस्लाममा महिलाका अधिकार, सम्मान, महत्त्व र इस्लामिक इतिहासमा महिलाहरूले दिएका योगदान एवं बलिदानबारे प्रस्ट कुरा छन् । इस्लामिक इतिहासमा महिलाले खेलेका भूमिका, सामाजिक सद्भाव, सामाजिक न्याय, पाँच धार्मिक आधारभूत स्तम्भ, आपसी प्रेम, सम्मान, एक अर्को अस्तित्व स्वीकार गर्नुको सकारात्मक असरबारे लेखिएका छन् । साथै, तपाईंहरूले लुकाएका र छुटाएका अन्य शरीयतका कुराबारे कसैले जानकारी गराउँछ भने तपाईं त खुसी हुनुपर्ने होइन र ? अनि, यो रिस डाहा र चरित्रहत्या किन ? शरीयतको कुरा गरेकै कारण महिलाको क्षमतामाथि प्रश्नचिह्न किन ?
एकाईसाैँ शताब्दीमा पनि यदि कुनै महिला साहस गरेर अगाडि बढीकन समाजमा सकारात्मक परिवर्तन र धार्मिक ज्ञान बाँड्नका लागि योगदान दिन खोज्छिन् भने उनलाई विभिन्न तरिकाले पछाडि पार्ने प्रयास र षड्यन्त्र गरिन्छ । कुनै महिला समाजका लागि केही गरूँ भनी जब अगाडि आउँछिन्, अनि उनलाई विभिन्न लाञ्छना लगाइन्छ । चरित्रहत्या गरिन्छ । यहाँसम्म कि चरित्रहीन साबित गर्नसमेत पछि पर्दैनन्। यदि यी आरोपहरूलाई खेपेर पनि महिला पछाडि हटिनन् भने उनलाई अपहरण, हत्या र बलात्कार आदिको डर देखाइन्छ । भौतिक र मानवीय नोक्सान हुन सक्ने धम्कीसमेत दिइन्छ ।
यस्तो पुरुषवादी समाज छ, जहाँ एकाईसौँ शताब्दीमा पनि महिलालाई असक्षम ठानिन्छ । एउटा मानिसभित्र जति धेरै क्षमता, दक्षता र योग्यता छ, उसले समाजमा त्यति नै धेरै योगदान दिन सक्छ । तर, बुझाइमा फरक भयो भन्दैमा गुणलाई पनि अवगुण ठान्न थालेका छन् । एउटै व्यक्तिले कसरी विभिन्न क्षेत्रमा योगदान दिन सक्छ भनी उदाहरण हेर्न सकिन्छ । जस्तै; नेपालको सन्दर्भमा राजतन्त्रका बेला दरबारमा देशका ठूला धर्मगुरुहरू सल्लाहकार हुन्थे । राजतन्त्रपछि अहिले धेरै धर्मगुरुहरूले आफू धर्मगुरु भई निर्वाह गर्ने जिम्मेवारीका साथै शिक्षक, खेलाडी, वकिल आदि पनि राजनीतिमा जोडिएर आफ्नो योगदान दिइरहेका छन् । उनलाई कसैले प्रश्न गर्दैन । हेर्दै जाने हो, विश्वको इतिहासमा अन्य धर्मका यस्ता बहुप्रतिभा भएका पुरुष व्यक्तिले विभिन्न क्षेत्रमा योगदान दिएका अनेक उदाहरण पाइन्छन् । त्यसबारे कसैले प्रश्नचिह्न खडा गर्दैन, गर्नु उचित पनि होइन । किनभने, ती तिनमा भएका बहुप्रतिभा हुन्, जसको कदर गरिनुपर्छ, न कि डाहा ।
तर, यही कुरा जब महिलाको सन्दर्भमा आउँछ, तब सबैका निधार खुम्चिन्छन्, ‘ओहाे, महिला’ भनेर । अहिले पनि महिला घरधन्दामै सीमित रहनुपर्छ र महिला त केवल पर्दाभित्र बस्ने वस्तु मात्र हो भनी सोच र धारणा बसेको छ । महिलाले त योगदान दिनै सक्दिनन् भन्ने सोचभन्दा माथि उठेर यदि कुनै महिला समाजमा योगदानका लागि अघि सर्छिन् भने उनले पितृसत्तात्मक सोचको सामना गर्नुपर्छ ।
सामाजिक क्षेत्रमा काम गर्ने महिलाको कुरा गरौँ भने शहर वा देशबाहिर जानुपर्ने अवसर आयो भने पुरुष हाकिमहरूले आफैँ तय गरिहाल्छन् कि उनी महिला हुन्, कहाँ यात्रा गर्न सक्छिन् भनेर । हरेक क्षेत्रमा महिलाको क्षमता नाप्ने थर्मोमिटर लिएर पुरुषहरू बसेका छन् ।
पुरुषले सानो काम गरे वाह वाह, बडो राम्रो, बहुत ठूलो योगदान गरेकाे भन्ने पनि यही समाज हो । तर, त्यही समाजबाट आफ्नो क्षमता, दक्षता र योग्यताका अनुसार जब कुनै महिला अघि बढ्छिन्, ती महिलालाई पछाडि धकेल्न उनीमाथि विभिन्न लाञ्छना लगाइन्छ । महिलाको चरित्रहत्या गरिन्छ । उनको चरित्रमाथि शंका उपशंका गरिन्छ । कुनै पुरुषको नाम जोडेर ती महिलालाई चरित्रहीन साबित गरिन्छ । यी यावत् षड्यन्त्रका बावजुद पनि उनी अघि बढिन् भने बुझ्नुपर्छ– उनले पक्कै ‘आफू ठीक छु, भुक्ने कुकुरहरूका कारण म किन पछाडि हटूँ । म त आफ्नो लक्ष्य प्राप्तिका लागि अडिग रहनेछु’ भनेर डटेर लागिपरेकी छिन् । तब ती महिलाको योग्यता र क्षमतामाथि प्रश्नचिह्न खडा गरी उनलाई अवसरबाट वञ्चित गरिन्छ, सामाजिक बहिष्कार गर्ने फत्वा लगाउने धम्की दिइन्छ ।
आखिर एक सक्षम महिलाको योग्यता, क्षमता र दक्षतामाथि किन प्रश्न खडा गरिन्छ ? यसको जवाफ आउँछ– पुरुषप्रधानता, पितृसत्तात्मक सोच र हैकमवादी नीति आदि । यसबाट मुस्लिम समुदाय पनि चोखो छैन । मुस्लिम समुदायमा पनि महिलाको अस्तित्व स्वीकार नै गर्न सक्दैनन् । यही कारण हो कि एक योग्य महिलाको क्षमतामा सधैँ प्रश्नचिह्न खडा गरिन्छ ।
समाजमा केही व्यक्तिहरूले त यतिसम्म अफवाह फैलाएका छन् कि इस्लाममा महिला भनेको पर्दामा बस्ने वस्तु हो । अनि, उनीहरूका अनुसार महिलाको युद्ध, इस्लाम, शरीयत र उल्लेखनीय भूमिकासँग कुनै लेनादेना छैन । हो, तिनीहरूलाई आवश्यकता छ- अध्ययन र ज्ञानको । किनकि, महिलाले इस्लामका लागि ठूलाठूला योगदान र बलिदान दिएका छन् । मुस्लिम इतिहासमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन् ।
हजरत खतिजा रजिअल्लाह पहिलो महिला हुन्, इस्लामका लागि समर्थन र प्रचारप्रसारका लागि आफ्नो सम्पूर्ण सम्पत्ति कुर्बान गर्ने । अरबमा उनीभन्दा धनवान् कोही थिएन् । उनले त्यतिखेर इस्लामका लागि उल्लेखनीय भूमिका निर्वाह गरिन्, जतिबेला त्यस्तो कार्य गर्न कोही अघि सरेको थिएन ।
फिरौनकी पत्नी हजरत आसिया, उनी मूसा अलैहिस्सलामको पालनपोषण गरी तौहीद अर्थात् लाइलाहा इल्ललाहका लागि संसारमा कुरबानी दिने पहिलो महिला हुन् । इस्लाममा लाइलाहा इल्ललाह मुहम्मदुर्र रसूलुल्लाहका लागि आफ्नो ज्यान कुर्बान गर्ने पहिलो महिला हजरत सुम्मैय्या बिन्ते खत्ताब थिइन, जो सहाबा हजरत अम्मार बिन यासिरकी आमा हुन् । उनी इस्लामका लागि आफ्नो ज्यानको आहुति दिने पहिलो महिला हुन् ।
हजरत आइशा रजिअल्लाह इस्लामको पहिलो आलिमा धार्मिक ज्ञानी अर्थात् पहिलो महिला धर्मगुरु हुन् । अरबका ठूलाठूला आलिम मुफ्ती मौलानाहरू उनीसँग सल्लाह लिन आउँथे । उनी हजरत मुहम्मद मुस्तफा सल्लल्लाहो अलैहे व आला आलेही व सल्लमकी पत्नी हुन् ।
पहिलो सबभन्दा चरित्रवान् महिला इसा अलैहिस्सलामकी आमा हजरत मरियम हुन् । उनको पवित्रताको गुणगान पवित्र कुरआनपाकमा समेत उल्लेख गरिएको छ । उनले इशा अलैहिस्सलामको पालनपोषण गरिन् ।
इस्लामकी पहिलो महिला, जसको सम्मानमा स्वयम् हजरत मुहम्मद मुस्तफा सल्लल्लाहो अलैहे व आला आलेही व सल्लम उभिइन्, उनी इस्लामका लागि घरबार, सन्तान सब कुर्बान गर्ने पहिलो महिला हुन् । उनकै छोरा शहीदेआजम इमाम हुसैन अलैहिस्सलाम जो करबलामा शहीद भए ।
इस्लामको पहिलो महिला सैय्यदा जैनब सलामुल्लाहे अलैहा उनको प्रवचनले यजीद र उसको दरबारका दरबारी थर्कमान भए । उनी यस्तो साहसी महिला हुन् जसले आफन्त भाइभारदार सबै शहीद भइसकेपछि साहसका साथ इमामतलाई कायम राख्न अल्लाहको इच्छाले बाँचेका इमाम जैनूल आबेदीनलाई आफ्नो पिठ्युँमा राखी दनदनी बलिरहेको टेन्टबाट बाहिर निकालेकी थिइन् र करबलादेखि शामसम्म नेतृत्व गरिन् । जब जहाँ मौका मिल्यो, समुदायलाई सम्बोधन गरिन् र यजीदले करबलामा गरेको दमन, बर्बरता र अमानवीयताबारे जानकारी गराइन् । उनी करबलामा भएको दमन, बर्बरता र अमानवीयताको प्रत्यक्षदर्शी थिइन् । उनकै कारण आज करबलाको यथार्थ घटना हामीसमक्ष पुग्न सकेको छ ।
बिबी नुसायबा जसलाई उम्मे अम्माराको नामले पनि चिनिन्छ । मदिनामा सबभन्दा पहिले इस्लाम कुबूल गर्ने पहिलो महिला हुन् । पैगंबर मुहम्मद सल्लल्लाहो अलैहै व आला आलेही वसल्लकी एक साथीको रूपमा थिइन् । उनलाई उहुद (६२५) को युद्धमा भाग लिएकै कारण बढी सम्झिन्छ । उनले तरबार र ढाल लिएर मक्काको विरुद्ध युद्ध गरेकी हुन् । उनले युद्धको दौरान पैगंबर मुहम्मदलाई शत्रुहरूबाट बचाएकी हुन् । यहाँसम्म कि कैयौँ तीर र तरबारको घाउले उनको शरीर चिराचिरा परेको थियो । उनले उहदको युद्धका घाइतेहरूको उपचार गरेकी थिइन् ।
समाजमा केही व्यक्तिहरूले त यतिसम्म अफवाह फैलाएका छन् कि इस्लाममा महिला भनेको पर्दामा बस्ने वस्तु हो । अनि, उनीहरूका अनुसार महिलाको युद्ध, इस्लाम, शरीयत र उल्लेखनीय भूमिकासँग कुनै लेनादेना छैन । हो, तिनीहरूलाई आवश्यकता छ- अध्ययन र ज्ञानको । किनकि, महिलाले इस्लामका लागि ठूलाठूला योगदान र बलिदान दिएका छन् ।
रबी अल अदवीय्या जो मुस्लिम परम्परामा सबभन्दा महत्त्वपूर्ण सूफीमध्ये एक हुन्, उनलाई ‘ईश्वरीय प्रेम’ को सूफी स्कुलको संस्थापकमध्ये एक मानिन्छ । लुबना जो खलिफा अब्द अल रहमान र उनका छोरा अल हकमको महलमा सचिव रहेकी थिइन् । उनी एक कुशल गणितज्ञ हुन्, जो शाही पुस्तकालयकी अध्यक्ष थिइन् । उक्त पुस्तकालयमा ५ लाखभन्दा बढी किताबहरू थिए । उनलाई गणितबारे अपार ज्ञान थियो । उमय्यद महलमा उनीजस्तो महान् अरु कोही थिएन । कोसेम सुल्तान जो तुर्क सुल्तान अहमदकी पत्नीको रूपमा उनले धेरै प्रभाव पारेकी थिइन् । उनलाई तुर्क इतिहासकै सबभन्दा शक्तिशाली महिला मानिन्छ ।
यी त केवल केही उदाहरण मात्र हुन् । यीबाहेक पनि अनेक मुस्लिम महिला छन् जस्तै; अटोमन साम्राज्यमा योगदान पुर्याउने महिला हाइमा खातुन, हलीमा सुल्तान, बाला खातुन अनि भारतमा रजिया सुल्तान आदि, जसले इस्लामका लागि योगदान र बलिदान वा उल्लेखनीय भूमिका निर्वाह गरे ।
आजको समयमा कुनै मुस्लिम महिला शिक्षा हासिल गरी आफ्ना आवश्यकताअनुसार नोकरी वा व्यापार गर्न खोज्छिन् भने तिनलाई बदनाम गर्ने प्रयास गरिन्छ । नोकरी उनले आफ्नो मेरिट वा शैक्षिक योग्यता, दक्षता, क्षमताअनुसार पाएकी हुन्छिन् । तर, समाजले उनलाई बदनाम गर्नका लागि उनीमाथि आरोप लगाउन थाल्छ । अफिसको कर्मचारी वा प्रमुखसँग उनको नाजायज सम्बन्ध रहेको झुटो हल्ला फैलाएर उनको चरित्रहत्या गर्न थाल्छन् ।
व्यापार गर्ने महिलाको पसलमा उनको असल व्यवहार वा इमानदारी हेरेर कुनै व्यक्ति प्रभावित भई नियमित ग्राहक बन्न पुग्छ भने हेर्नेले कानेखुसी गर्न थाल्छन् । दैनिक उसैको पसलमा किन किन्न आउँछ ? ग्राहकसँग कुनै चक्कर जरुर चलिरहेको छ भन्ने अफवाह फैलाउँछन् । राजनीतितर्फ रहेका मुस्लिम महिलाको कुरा गर्ने हो भने कुनै महिला आफ्नो क्षमता, राजनीतिक सुझबुझ र समझदारीका कारण कुनै उच्च पद पाउँछिन्, जुन पदका लागि वर्षौंदेखि पुरुषहरूले आशा गरी आँखा लगाएर बसेका हुन्छन् तर पाउँदैनन् । अनि उनीहरूले अब ती महिलाको कुरा काट्न थाल्छन् ।
यदि त्यसबाट महिला पछि हट्दिनन् भने अब उनको विरुद्ध गलत अफवाह फैलाउन सुरु गर्छन् । त्योबाट पनि डराइनन् भने पार्टी वा दलका कुनै उच्च पदासीन नेतासँग उनको अनैतिक सम्बन्धका कारण उनले यो अवसर पाएकी हुन् भनेर चरित्रहत्या गर्न थाल्छन् । यतिसम्म गरिसकेपछि पनि ती महिला हार मानिनन् भने अब उनीविरुद्ध षड्यन्त्र गर्न थाल्छन् । एक सक्षम मुस्लिम महिला अघि बढ्न खोज्दा यिनै बाधा, अवरोध, अपमान, चरित्रहत्या र षड्यन्त्रहरूको सामना गर्नुपर्छ । यहाँसम्म कि समाजको डरले महिलाको आफ्नै घरपरिवारले साथ छाडिदिन्छ । आफन्त टाढिन्छन् । साथीभाई किनारा लाग्छन् । ती महिलालाई एक्लो पारिन्छ । हेर्ने दृष्टिकोण फरक भइहाल्छ । नोकरी होस् , व्यापार होस्, पत्रकारिता होस् वा राजनीति होस्, मुस्लिम महिलालाई अघि बढ्न सोचेजस्तो सहज छैन । एक महिलाका लागि बाधा आफू पछाडि हट्न बाध्य हुनुको पहिलो कारण त परिवारले साथ नदिनु हो, जसले गर्दा ऊ आर्थिक रूपमा कमजोर हुनु पनि एक मुख्य चुनौती हो । त्यसपछि उसविरुद्ध फैलाइने गलत अफवाह, उसको चरित्रहत्या गरिनु र उसका विरुद्ध अनेक षड्यन्त्र रच्नु पनि कारण हो ।
अब मुस्लिम समुदाय पितृसत्तात्मक सोचबाट माथि उठेर आफ्नो छोरीलाई गुणस्तरीय उच्च शिक्षा दिलाउनुपर्छ । छोरीहरूलाई पनि आफ्नो क्षमता दक्षताअनुसार समाज र परिवारमा भूमिका निर्वाह गर्ने अवसर दिनुपर्छ । मानमर्यादाको ख्याल राख्ने त्यही उपदेश छोरालाई पनि दिनुपर्छ कि तिमीले पनि मानमर्यादाको ख्याल राख्नुपर्छ भनेर । मान मर्यादाको ख्याल राख्ने जिम्मा छोरा र छोरी, महिला र पुरुष दुवैको हुन्छ । अनि, नोकरी वा व्यापार पेसामा लागेकी महिलाहरूप्रति हुने गलत र निराधार अफवाह रोक्नुपर्छ ।
तर यो सम्भव तब मात्र हुनेछ, जब मुस्लिम समाजले शिक्षामा विकास गर्छ । आज विश्वमा शिक्षित मुलुकहरू नै विकसित मुलुकका रूपमा स्थापित छन् । हाम्रो मुलुकमा पनि मुस्लिम महिलालाई समान अवसर, उच्च शिक्षा र हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिता गराउनुपर्छ । किनकि यिनले पनि उच्च शिक्षा हासिल गरी आफ्नो क्षमता, दक्षता र योग्यताअनुसार समाजमा सकारात्मक परिवर्तनका लागि विशेष योगदान पुर्याउन सक्छिन् । सिलापत्र बाट साभार गरिएको छ ।