माओवादी केन्द्र निकट युवाहरूले ‘जेनजी रेड फोर्स’ गठन
नेकपा (माओवादी केन्द्र) निकट युवाहरूले ‘जेनजी रेड फोर्स’ गठन गरेका छन्। अनेरास्ववियु (क्रान्तिकारी) की केन्द्रीय सदस्य स्मृति तिमिल्सिनाको संयोजकत्वमा फोर्सको गठन गरिएको हो।
संयोजक तिमिल्सिनाका अनुसार १४ देखि २९ वर्ष उमेरका युवाले नेतृत्व गर्ने गरी रेड फोर्स तयार पारिएको हो। उनले भनिन्, ‘देश अहिले साम्राज्यवादी र प्रतिक्रियावादीको रणभूमि बन्ने खतरा छ। यस्तो अवस्थामा पार्टीलाई रूपान्तरण गर्दै चार–पाँच वर्षभित्र नम्बर–एक बनाउने हाम्रो लक्ष्य हो।’
फोर्सको औपचारिक घोषणा असोज २९ गते गर्ने तयारी भए पनि सोमबार साँझसम्म सबै जिल्लाका संयोजकसँग छलफल गरेर अन्तिम संरचना टुंगो लगाइने तिमिल्सिनाले बताइन्। उनका अनुसार अहिले ४० जिल्लामा संयोजक तोकिएको छ, र तिहारपछि संगठन “एक्सन मोड” मा उत्रिनेछ।
तिमिल्सिनाले संगठनको पहिलो उद्देश्य पूर्वजनमुक्ति सेनाका परिवार र सहिदका सन्तानलाई पुनः पार्टीमा सक्रिय बनाउने रहेको बताइन्। उनले भनिन्, ‘हाम्रा सहिद परिवार र पूर्वयोद्धाहरूलाई पार्टीले बिर्सिएको छ। रेड फोर्सले उनीहरूलाई फेरि घर फर्काउने अभियान चलाउनेछ।’
उनका अनुसार रेड फोर्सले माओवादीभित्र देखिएको गुटबन्दी र भ्रष्टाचारविरुद्ध पनि कडा अभियान चलाउने तयारी गरेको छ। उनले जोड दिँदै भनिन्, ‘देश र पार्टीका लागि लड्न र मर्न तयार छौं। गुटवादी नेताहरूलाई पार्टीबाट निकाल्न पनि हामी तयार छौं।’
तिमिल्सिनाले अझै भनेकी छन् — ‘पार्टीमा अहिले पनि बहुमत कार्यकर्ता प्रचण्डकै नेतृत्वमा विश्वास गर्छन्। हामी पनि गणतन्त्रको सिद्धान्तअनुसार बहुमतको कदर गर्छौं।’
उनका अनुसार ‘जेनजी रेड फोर्स’ माओवादी केन्द्रकै मातहतमा रहनेछ र पार्टी अध्यक्षकै निर्देशनमा सञ्चालन हुनेछ। उनले भनेकी छन्, ‘जेनजी फोर्स कुनै गुट होइन, यो पार्टी एकता र अनुशासनका लागि बनाइएको संगठन हो।’
स्मृति तिमिल्सिनाले अन्त्यमा भनिन्, ‘हामी पार्टीलाई फेरि पहिलो शक्ति बनाउनेछौं। यो आन्दोलनको नयाँ पुस्ताको प्रतिबद्धता हो।’ हिमालपत्रीका




