१७ कार्तिक २०८३, सोमबार

शैक्षिक रूपान्तरण बिना समृद्ध समाज असम्भव : युवा नेता राज कुमार हमाल गुणस्तरीय, व्यावहारिक र प्रविधि मैत्री शिक्षामा जोड, विपन्न बालबालिकाका लागि छात्रवृत्ति आवश्यक

एसीपी संवाददाता

१७ कार्तिक २०८३, सोमबार ११:५० मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज, १५ कात्तिक — नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तथा युवा समाजसेवी राज कुमार हमालले शिक्षा क्षेत्रको आमूल रूपान्तरण बिना समृद्ध, सभ्य र समतामूलक समाज निर्माण गर्न नसकिने बताउनुभएको छ। बाँकेको शैक्षिक अवस्था सुधार र विद्यार्थीको उज्ज्वल भविष्यप्रति चासो व्यक्त गर्दै उहाँले गुणस्तरीय, व्यावहारिक तथा प्रविधिमैत्री शिक्षामा जोड दिनुभएको हो।

राजनीतिसँगै विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका हमालले वर्तमान समयको आवश्यकता अनुसार शिक्षण पद्धतिमा सुधार गर्दै विद्यालय शिक्षालाई जीवनोपयोगी र सीपमूलक बनाउनुपर्ने धारणा राख्नुभएको छ। उहाँले सरकारी तथा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक वातावरण र शिक्षण पद्धतिमा सुधार गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो।“आजका बालबालिका भोलिका देशका कर्णधार हुन्। त्यसैले उनीहरूलाई प्रदान गरिने शिक्षा केवल प्रमाणपत्र हासिल गर्ने माध्यममा सीमित हुनुहुँदैन, जीवनोपयोगी, व्यावहारिक र प्रतिस्पर्धी क्षमताको विकास गर्ने खालको हुनुपर्छ,” हमालले भन्नुभयो।

उहाँले बाँके क्षेत्र नम्बर २ भित्रका कुनै पनि बालबालिका आर्थिक अभाव वा अन्य कारणले शिक्षाबाट वञ्चित हुन नहुने उल्लेख गर्दै सबै बालबालिकाको शिक्षामा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।

“हरेक बालबालिकाले शिक्षाको उज्यालोबाट लाभ लिन पाउनुपर्छ। आर्थिक अवस्था कमजोर भएकै कारण कुनै पनि बालबालिका विद्यालय जानबाट रोकिनु हुँदैन। यसका लागि राज्यका निकायसँगै समाजका सबै वर्ग र समुदाय जिम्मेवार भएर लाग्न आवश्यक छ,” उहाँले बताउनुभयो। हमालले गरिब, विपन्न तथा पछाडि पारिएका समुदायका बालबालिकालाई विद्यालयसम्म ल्याउन र उनीहरूको उच्च शिक्षामा पहुँच विस्तार गर्न विशेष छात्रवृत्ति, शैक्षिक सहायता तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो। शिक्षामा लगानी बढाउँदै विद्यालय तहदेखि नै प्राविधिक तथा सीपमूलक शिक्षाको पहुँच विस्तार गर्न सके युवालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ।

उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै आधुनिक प्रविधिको प्रयोग, दक्ष शिक्षकको व्यवस्था र विद्यार्थी मैत्री शिक्षण वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। सामुदायिक विद्यालयमा पनि गुणस्तरीय शिक्षा उपलब्ध गराउन सके सबै वर्गका विद्यार्थीले समान अवसर प्राप्त गर्ने उहाँको विश्वास छ।

त्यसैगरी, विद्यालयलाई राजनीतिक हस्तक्षेप र शैक्षिक बेथितिबाट मुक्त राख्दै अध्ययन, अनुसन्धान, सिर्जनशीलता र नैतिक शिक्षाको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा हमालले जोड दिनुभएको छ।आफ्नो क्षेत्रभित्र शैक्षिक गुणस्तर अभिवृद्धि, विपन्न विद्यार्थीको शैक्षिक पहुँच सुनिश्चितता र प्राविधिक शिक्षाको विस्तारका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले शिक्षा सुधारलाई राज्य, समुदाय, अभिभावक र सरोकारवाला सबैको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताउनुभयो।

शिक्षामा समान अवसर, गुणस्तर र व्यावहारिक सीपको विकासलाई प्राथमिकता दिनुपर्ने हमालको धारणाले बाँकेमा शैक्षिक सुधारको बहसलाई थप महत्त्वपूर्ण बनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x