‘मिसन ८४’ मा नेपालगन्जको नेतृत्वका लागि नवीन खड्काको दाबेदारी, सुशासन देखि रोजगारीसम्मका एजेन्डा सार्वजनिक
नेपालगन्ज,कात्तिक ३० गते — आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुख (मेयर) पदका लागि नवीन खड्काको नाम चर्चामा आउन थालेको छ। ‘मिसन ८४’ लाई केन्द्रमा राखेर उनले आफ्नो नेतृत्वको दाबेदारी प्रस्तुत गर्दै नगर विकासका विभिन्न एजेन्डा सहित चुनावी तयारीको संकेत गरेका छन्।
‘अब कुरा होइन, काम गर्ने नेतृत्व रोजौँ !’ भन्ने मूल नारा सहित सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको प्रचार सामग्रीमा खड्कालाई योग्य, जुझारु तथा विकास प्रेमी व्यक्तित्वका रूपमा प्रस्तुत गरिएको छ। उनले समुन्नत, व्यवस्थित र समृद्ध नेपालगन्ज निर्माणको अभियानमा नगरवासीको साथ र समर्थनको अपेक्षा गरेका छन्।
खड्काले सार्वजनिक गरेको प्रचार सामग्रीमा मुख्य रूपमा चारवटा चुनावी एजेन्डालाई प्राथमिकता दिइएको छ। जसमा भ्रष्टाचारमुक्त र पारदर्शी स्थानीय सरकार निर्माण गर्दै सुशासन कायम गर्ने प्रतिबद्धता पहिलो प्राथमिकतामा राखिएको छ।
त्यसैगरी, नेपालगन्जको दीर्घकालीन समस्याका रूपमा रहेको डुबान, फोहोरमैला व्यवस्थापन तथा अव्यवस्थित ट्राफिक समस्याको दिगो समाधान खोज्ने एजेन्डा अघि सारिएको छ।
युवा उद्यमशीलतालाई प्रोत्साहन गर्दै स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने तथा नगरवासीलाई गुणस्तरीय शिक्षा र सहज एवं सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।‘अब कुरा होइन, काम गर्ने नेतृत्व रोजौँ’ भन्ने नारासहित खड्काले सुशासन, विकास, रोजगारी र सामाजिक सेवा मार्फत समुन्नत नेपालगन्ज निर्माण गर्ने लक्ष्य अघि सारेका छन्। उनका सार्वजनिक एजेन्डाले आगामी निर्वाचनमा नगरको विकास र नेतृत्व परिवर्तन सम्बन्धी बहसलाई थप चासोपूर्ण बनाउने देखिन्छ।
पछिल्लो समय नेपालगन्ज उपमहानगरपालिकामा ‘मिसन ८४’ लाई लक्षित गर्दै विभिन्न राजनीतिक दल तथा स्वतन्त्र आकाङ्क्षीहरूले आफ्नो दाबेदारी प्रस्तुत गर्न थालेका छन्। नगर प्रमुख देखि वडा अध्यक्ष सम्मका सम्भावित उम्मेदवारहरूको चर्चा बढ्दै जाँदा स्थानीय राजनीतिक वातावरण समेत क्रमशः चुनावी माहोलतर्फ अघि बढिरहेको छ।
यद्यपि, खड्काको उम्मेदवारी तथा राजनीतिक दलगत आबद्धताबारे औपचारिक विवरण सार्वजनिक हुन बाँकी छ।


