लागुऔषध दुरुपयोग र ओसारपसारविरुद्ध नयाँ सुरक्षा
काठमाडौँ । देशभर फैलिँदो लागुऔषध दुरुपयोग र ओसारपसारविरुद्ध निर्णायक कदम चाल्दै गृह मन्त्रालयले अबको आर्थिक वर्षदेखि ‘लागुऔषध नियन्त्रण विभाग’ स्थापना गर्ने घोषणा गरेको छ। गृहमन्त्री रमेश लेखकले बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै लागुऔषध नियन्त्रणलाई गृह मन्त्रालयको शीर्ष प्राथमिकतामा राखिएको बताएका हुन्।
अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा मन्त्री लेखकले भने, “हामी लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्दैछौं। आगामी आर्थिक वर्ष २०८२/८३ मा गृहमन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिनेछ।”
उनले लागुऔषधको दुरुपयोगले नेपाली समाजमा गम्भीर संकट निम्त्याएको भन्दै अबको नीति चेतनामूलक अभियानबाटै सुरु गर्नुपर्ने धारणा राखे। “लागुऔषधको सेवनले मानिसको जीवन समाप्त गर्छ भन्ने चेतना विद्यालय–विद्यालयसम्म पुर्याउन जरुरी छ,” उनले जोड दिए।
गृहमन्त्री लेखकले प्रस्तुत गरेको तथ्यअनुसार हाल देशभरका कारागारमा रहेका कैदीबन्दीमध्ये दोस्रो ठूलो संख्यामा लागुऔषधसँग सम्बन्धित अपराधमा सजाय भोगिरहेका छन्। यस्तो अवस्थाले समस्याको गम्भीरता प्रस्ट पारेको भन्दै उनले नीति तथा संयन्त्र दुवैलाई मजबुत बनाइने बताएका छन्।


