४ आश्विन २०८३, आईतवार

“श्रीमान बितेको एक महिना भयो, तर म सिन्दुर, पोते र चुरा लगाइरहन्छु

एसीपी संवाददाता

७ भाद्र २०७८, सोमबार ११:०५ मा प्रकाशित

काठमाण्डौ । “श्रीमान बितेको एक महिना भयो, तर म सिन्दुर, पोते र चुरा लगाइरहन्छु, मेरो श्रीमानको चिनो हो, म किन खोल्ने ?” यो भनाइ काठमाडौँको हाडीगाउँस्थित ८३ वर्षीया सरिता पौडेलको हो । सरिताको ९३ वर्षीय पति बलराम पौडेलको गत चैत १६ गते निधन भयो, तर उनी सिन्दुर, चुरा, पोते र रातो परिहनमा छिन् ।

श्रीमानको दाहसंस्कारकै क्रममा श्रीमतीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने सदियौँदेखिको प्रचलन छ । तर, सरिताले यो परम्परा तोडेको सुन्दा पत्याउन गाह्रो हुन्छ । उनी भन्छिन्, “सिन्दूर–पोते र चुरा पतिको सुन्दर उपहार हो । यसलाई जतन गरी लगाउनुपर्छ । श्रीमान्सँग गाँसिएको सौभाग्य उतार्नुहुन्न ।”

सरिताले आफूले मात्र रातो बस्त्र लगाएर बसेकी होइनन् । छोराहरूलाई पनि सेतो बस्त्र लगाउन दिइनन् । उनका छोराहरू विमल र अमललाई सेतो बस्त्र लगाउन रोकिन् । “मानिसलाई जीवित छँदा राम्रो हेरचाह, माया गर्नुपर्छ”, उनले भनिन्, “रुढीवादी परम्पराका पछाडि लागेर बाँचेकालाई दुःख दिनुहुँदैन ।”

त्यति मात्र होइन, सरिताले १३ दिनसम्म भोकै बस्दा आफ्ना सन्तान कमजोर हुन्छन् भनेर सात दिनमै काजकिरिया सक्न लगाइन् र तीन दिनबाट दुई छोरा र तीन छोरी सनम, निसम र कुसुमलाई खान भनिन् । “कति महिला सानै उमेरमा विधवा भएका छन्, म सन्देश दिन चाहन्छु”, उनले जोडिन्, “रुढीवादी परम्परा हो यो, पतिको चिनो फाल्नु पर्दैन, लगाउनुपर्छ ।”

स्व पौडल शिक्षासेवी थिए । उनले धेरै क्याम्पस प्रमुख भएर काम गरे । उनले आफ्नो निधन हुनुअघि नै आफूलाई शवदाहगृहमा अन्तिम संस्कार गर्न परिवारसँग आग्रह गरेका थिए । अनि आफ्ना छोराहरूलाई कोरामा नबस्न आग्रह गरेका थिए । “आफ्नो बाबुलाई जलाउँदा सन्तालाई पीडा हुन्छ, मलाई शवदाहगृहमा जलाउनु”, पौडेलकी नातिनी प्रज्ञा पौडेल खड्काले सुनाउनुभयो, “खाली ठाउँमा गएर कोरा बस्नु पर्दैन, घरमै बस्नु भन्नुभएको थियो ।”

जीवनका उत्तराद्र्धमा पनि उनीहरू आफ्नो काम आफैँ गरेको अनुभव प्रज्ञाले सुनाउँदै भने, “हजुरआमा ८३ वर्षको हुनुहुन्छ, तिमीहरू आफ्नो काममा लाग, कसैलाई दुःख दिन्न, मेरो हातखुट्टा चलिञ्जेल आफैँ गरेर खान्छु भन्नुहुन्छ ।”

समाजमा परम्पराअनुसार काजकिरिया गर्नुपर्छ । पति बितेका महिलालाई अहिले पनि रातो कपडा लगाउन हुँदैन । सिन्दुर पोले लगाउन हुँदैन भन्ने विश्वास यथावत छ । जीवनको उत्तराद्र्धमा पतिको निधनपछि गरेका क्रियाकलाप समाजका लागि सकरात्मक उदारहणका रूपमा लिन सकिन्छ । (रासस)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x