सीमामा बसेर सीमाको रक्षा गर्ने सच्चा राष्ट्रवादी मधेसी जनतालाई सिंहदरबारको शासकले चिन्नु पर्ने
समारोहमा मधेसका मुख्यमन्त्रीले सङ्घीय संविधान माथि खतरा रहेको भन्दै बचाई दिन गुहार गरेपछि राष्ट्रपतिले काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर कुरा गर्ने बताएका हुन् । राष्ट्रपति पौडेलले प्रदेश र स्थानीय सरकारका लागि संविधानले सुरक्षित गरेको सम्पूर्ण अधिकार प्रदान गर्ने प्रक्रियामा विलम्ब गर्न नहुने समेत बताए ।
मधेस प्रदेशका मुख्यमन्त्रीको गुहारलाई मौखिक रूपमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुख्यमन्त्रीले उठाएको कुरा संविधानको रक्षकको नाताले आफूलाई साह्रै मन परेको बताउँदै देउवा, ओली र प्रचण्डलाई बोलाएर यस विषयमा आफू कुरा गर्ने बताए । ‘वहाँ तीनै जना मिल्नुपर्ने न हो ?’ भन्दै राष्ट्रपतिले भने, ‘म भन्छु तीनै जना मिल्नु भयो भने देशको विकास र संविधानको कल्याण सबै सम्भव छ ।’
त्यस अगाडि मुख्यमन्त्री यादवले संविधानमा उल्लेख भएको कर्मचारी र प्रहरी प्रशासन बिना काम गर्न अप्ठेरो हुँदा जनताहरूको विश्वास प्रदेश सरकारबाट हट्न थालेको भन्दै संविधानको रक्षकको नाताले सङ्घीयता बचाउन सक्रिय भइदिन राष्ट्रपतिलाई आग्रह गरेका थिए । मुख्यमन्त्री यादवले प्रदेश सरकार नरहे सङ्घीयता धरापमा पर्ने भन्दै संविधानमा उल्लेख अधिकार प्रदान गर्न लगाई काम गर्ने वातावरणको निर्माणका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
जानकी मन्दिर दर्शन र पूजापाठ सहित विभिन्न कार्यक्रमका सरिक भएका पौडेलले आफ्नो नागरिक अभिनन्दन समारोहमा सचिवालयले लेखेको लिखित मात्र होइन मौखिक रूपमा बोलेका थिए । राष्ट्रपति खुलेर बोल्दा नेताहरू उत्साहित भएका थिए ।
‘म राष्ट्रपति भएपछि देशमा भाइचारा र सबै क्षेत्रको अपनत्वका लागि पशुपतिनाथ, स्वयम्भू नाथ, गोरखनाथ र गोरखकालीका साथै जानकी मन्दिरको दर्शन गरेको छु ‘ पौडेलले भने । देशको सीमामा बसेर सीमाको रक्षा गर्ने सच्चा राष्ट्रवादी मधेसी जनतालाई सिंहदरबारको शासकले चिन्नु पर्ने र सम्मान गर्नुपर्ने उनको भनाई थियो ।
राष्ट्रपति पौडेलले कुनै पनि बाहानमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर गर्ने कार्य हुन नदिने बताए।


