हिन्द (प्रशान्त) क्षेत्रको सुरक्षा गर्ने कार्य कुन राष्ट्रको सहयोग खोज्दै छ अमेरीकाले ?
वासिङटन : भारत विश्वमा शक्ति राष्ट्र बन्दै गएकोमा अमेरिकाले प्रसन्नता व्यक्त गरेको छ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले सञ्चारमाध्यमहरुसँगको कुराकानीमा शक्ति राष्ट्रका रुपमा भारतको उदयलाई स्वागत गरेका हुन्। ‘भारत हिन्द-प्रशान्त क्षेत्रमा अमेरिकाको महत्वपूर्ण सहयोगी राष्ट्र हो,’ उनले भने, ‘अमेरिका शक्ति राष्ट्रका रुपमा भारतको उदय सँगसँगै हिन्द-प्रशान्त क्षेत्रको सुरक्षा गर्ने सहयोगी राष्ट्रका रुपमा स्वागत गर्छौं।’
प्रवक्ता नेडले भारतीय विदेशमन्त्री एस जयशंकरसँग अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले कुराकानी गरेको जानकारी पनि दिए। १४ दिनयता अमेरिकी र भारतीय विदेशमन्त्रीबीच भएको यो दोस्रो टेलिफोन वार्ता हो।
नेडका अनुसार दुवै विदेशमन्त्रीले फोन वार्तामा अमेरिका-भारत साझेदारी सशक्त हुने र म्यान्माको ताजा राजनीतिक स्थितिबारे र द्विपक्षीय मामिलाबारे कुराकानी गरेका थिए। अमेरिकी विदेशमन्त्री ब्लिंकेनले म्यान्मामा भएको कु र लोकतन्त्रका मूल्य मान्यताको उल्लंघनमाथि चिन्ता व्यक्त गरेका थिए।
फेब्रुअरी १ मा म्यान्माको सेनाले त्यहाँको सरकारलाई अपदस्थ गरेर सत्ता कब्जा गर्नुका साथै सर्वोच्च नेता आङ सान सू चीसहित मन्त्रीहरुसहित अन्य नेतालाई हिरासतमा राखेको थियो ।
अमेरिका-भारतका दुवै विदेशमन्त्रीले हिन्द-प्रशान्त क्षेत्रमा दुवै देशबीच आपसी सहयोगको औचित्य र क्षेत्रीय विकासबारे पनि कुराकानी गरेका थिए । प्रवक्ता नेडले भने, ‘दुवै देशले क्वार्ड र अन्य उपायबाट क्षेत्रीय सहयोग बढाउनुपर्नेमा जोड दिए। साथै कोविड-१९ र जलवायु परिवर्तनजस्ता चुनौतिको मिलेर समाधान गर्नमा समेत प्रतिबद्धता जनाएका छन्।’
अमेरिका-भारत साझेदारी
‘अमेरिका-भारतको सामरिक साझेदारी व्यापक मात्र छैन, बहुआयामिक पनि छ,’ प्रवक्ता नेडले भने, ‘अमेरिका-भारतले धेरैवटा मामिलामा उच्चस्तरीय सहयोग अघि बढाउँछन्। दुवै देशबीच भविष्यमा अझै गहन साझेदारी र आपसी सहयोग हुनेछ।’
नेडले अमेरिका-भारत दुवै देश रक्षा, हिन्द-प्रशान्त क्षेत्रमा क्षेत्रीय सहयोग, आतंकवाद, शान्ति, पर्यावरण, स्वास्थ्य, शिक्षा, उद्योग तथा प्रविधि, कृषि, अन्तरिक्षजस्ता विस्तृत अनेकौं कूटनीति तथा सुरक्षासँग जोडिएका क्षेत्रमा आपसमा सहयोगी रहेको पनि बताए। ‘दुवै देश अनेकौं अन्तरराष्ट्रिय संगठनमा समेत एकसाथ काम गरिरहेका छन् ,’ उनले भने , ‘सुरक्षा परिषदमा आगामी २ वर्षका लागि भारत चुनिएकोमा अमेरिका स्वागत गर्छ।’
नेडले भारत अमेरिकाको सबैभन्दा ठूलो व्यापार सहयोगी भइरहने बताए। दुवै देशबीचको व्यापार बढेर सन् २०१९ मै १ अर्ब ४६ करोड अमेरिकी डलर पुगिसकेको छ। यसबाहेक पनि कैयौं अमेरिकी कम्पनीले भारतमा प्रत्यक्ष लगानीसमेत गर्दै आएका छन्।
व्यापार र राजनीतिक सम्बन्धबाहेक पनि अमेरिका-भारतबीच गहिरो सम्बन्ध रहेको अमेरिकी प्रवक्ता नेडले दाबी गरे। उनले भने, ‘यहाँ अमेरिकालाई नै आफ्नो घर मान्ने ४० लाख भारतीय-अमेरिकी बस्छन्, जो अमेरिकी समाज र देशको सेवा गर्दा गौरवान्वित अनुभूति गर्छन्।’ अन्नपुर्णपोस्ट


