१८ श्रावण २०८३, सोमबार

भारतबाट धान, गहुँ र चामलको आयात ह्वात्तै बढयो

एसीपी संवाददाता

२४ माघ २०८०, बुधबार १५:२३ मा प्रकाशित

पर्सा — वीरगन्ज नाका हुँदै भारतबाट धान, गहुँ र चामलको आयात ह्वात्तै बढेको छ । एकीकृत सुरक्षा जाँच चौकी सञ्चालक कम्पनी हिमालय ट्रान्स लजि पार्कको तथ्यांक अनुसार पुसयता सोमबारसम्ममा यो नाका हुँदै १ हजार ८५ ट्रक धान, ९९ ट्रक गहुँ र १२ ट्रक चामल भारतबाट आयात भएको छ ।

‘एउटा ट्रकले २५ देखि ३५ हजार किलो सम्म धान र ४० हजार किलो सम्म चामल बोक्छ,’ स्रोतले भन्यो, ‘पुस यता धान, चामल र गहुँको आयात ह्वात्तै बढेको छ ।’

भारतले धान चामल निकासीका लागि वर्षेनि वीरगन्ज, भैरहवा र काँकडभिट्टा गरी नेपालका ३ वटा नाकालाई मात्र स्वीकृति दिँदै आएको छ । भारतको बिहार, उत्तर प्रदेश र पश्चिम बंगालबाट धान चामल बढी भित्रिने गरेको छ ।

वीरगन्ज उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष एवम् नेपाल चामल दाल तेल उद्योग संघका निवर्तमान केन्द्रीय अध्यक्ष सुबोध कुमार गुप्ता भारतले नेपालका लागि यस बर्ष पनि गैरबास्मती चामलको निर्यातमा मात्र स्वीकृति दिएको बताउँछन् । भारतले यस वर्ष नेपालका लागि धान निर्यातको कोटा समेत निर्धारण नगरेको उनले बताए ।

‘सामान्यतया भारतले नेपालका लागि वर्षेनि ५ लाख देखि ६ लाख मेट्रिक टन धान निर्यातको कोटा छुट्याउछ,’ उनले भने, ‘तर यस बर्ष कोटा छुट्याएन । बरु २० प्रतिशत निर्यात शुल्क लगाएर नेपालका लागि धान निर्यात खुल्ला गर्‍यो ।’ यसो हुँदा नेपालमा स्वाभाविक रुपमा चामल महँगो हुन जाने उनले बताए ।

संघले नेपाल सरकारसँग भारतबाट आयात हुने धान, चामल र चिनीको कोटा निर्धारणको लागि समन्वय गर्न पटक-पटक आग्रह गरेपनि सरकारले त्यसो गर्न नसकेको गुप्ताले गुनासो गरे ।

वीरगन्ज नाका हुँदै भारतबाट धान र चामलको आयात गर्दा गत आवमा २१ अर्ब रुपैयाँ बाहिरिएको थियो । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार, गत आवमा यो नाका हुँदै १३ अर्ब ५७ करोड रुपैया बराबरको ३६ करोड ९९लाख किलो धान भारतबाट आयात भएको थियो ।

अघिल्लो आवको तुलनामा गत आवमा धानको आयात ७४ दशमलव ०३ प्रतिशतले बढेको थियो । अघिल्लो आवमा यो नाका हुँदै ६ अर्ब ५० करोड रुपैया बराबरको २१ करोड २५ लाख किलो धान भारतबाट आयात भएको थियो ।

त्यसैगरी, गत आवमा २ अर्ब ७९ करोड रुपैयाँ बराबरको ३ करोड ४८ लाख किलो चामल भारतबाट आयात भएको थियो । चामलको आयात भने अघिल्लो आवको तुलनामा २४ दशमलव ४४ प्रतिशतले घटेको थियो । अघिल्लो आवमा ३ अर्ब ८२ लाख रुपैया बराबरको चामल भारतबाट आयात भएको थियो । धान, चामलको आयातमा नेपाल तर्फ भने आयातकर्तालाई ५ प्रतिशत कृषि सुधार शुल्क मात्र लाग्छ । ईकान्तिपुर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x