१७ श्रावण २०८३, आईतवार

भारतीय सतलज कम्पनीले निर्माण गर्नलाको ९ सय मेगावाट अरुण तेस्रोको काम झन्डै ७० प्रतिशत सम्पन्न

एसीपी संवाददाता

७ फाल्गुन २०८०, सोमबार १६:४४ मा प्रकाशित

सङ्खुवासभा  ( कान्तिपुरटिभी )  जलविद्युतको हब मानिएको सङ्खुवासभाको अरुण नदीमा अहिले ४ वटा ठूला जलविद्युत आयोजना निर्माणको चरणमा छन् । किमाथांका अरुण, माथिल्लो अरुण, अरुण तेस्रो र तल्लो अरुण परियोजना निर्माण भएपछि ३ हजार ८४ मेगावाट बिजुली उत्पादन हुनेछ ।भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजनाको काम झन्डै ७० प्रतिशत सकिएको छ । ड्याम र पावर हाउस निर्माणको काम धमाधम चलिरहेको छ भने झन्डै ४ हजार कामदार कार्यरत छन् । अरुण तेस्रोकै मोडलमा सतलजले तल्लो अरुण ६ सय ६९ मेगावाटको निर्माणका लागि मुआब्जा वितरणको तयारीमा छ । यी दुवै आयोजनाबाट नेपालले २१ प्रतिशत विद्युत् निःशुल्क पाउने छन् ।

माथिल्लो अरुण १ हजार ६३ मेगावाटको जलविद्युत आयोजना निर्माणको जिम्मा भने नेपाल विद्युत् प्राधिकरणले पाएको छ । आयोजनाले प्रभावित क्षेत्रमा मुआब्जा समेत वितरण गरिसकेको छ । आयोजना प्रभावित क्षेत्रका ७ सय ८८ कित्तामध्ये ६ सय ९९ कित्ताकाट गरिसकेको छ । आयोजनाका लागि भोटखोलामा दुई हजार ५ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । किमाथांका अरुणबाट ४ सय ५४ मेगावाट बिजुली निस्कन्छ । यसका लागि २ सय ९० रोपनी जग्गा अधिग्रहण भइसकेको छ ।

 

यी आयोजनालाई मध्यनजर गरेर सङ्खुवासभाका विभिन्न स्थानमा ३ वटा प्रशारणलाइन समेत निर्माण भइसकेका छन् । यी आयोजना निर्माण सम्पन्न भएपछि कोशी प्रदेशको मुहार फेरिने र आर्थिक कारोबारमा वृद्धि हुने विश्वास स्थानीयको छ । आर्थिक विकासका लागि साना होस या ठूला जलविद्युत मेरुदण्डको रूपमा अघि देखिएको छ ।सङ्खुवासभा भएर बग्ने अरुण नदी बाहेक सभा, पिलुवा, हेवा लगायतका खोला हरूबाट पनि विद्युत् उत्पादन भइरहेको छ । सङ्खुवासभाका सानाठूला खोलाबाट कम्तीमा ६ हजार मेगावाट बिजुली सहजै उत्पादन गर्न सकिने विज्ञ हरूको दाबी छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x