मधेशमा सत्ता जोगाउन कांग्रेससँग हारगुहार गर्दै जसपा
काठमाडौं। उपप्रधान एवं स्वास्थ्यमन्त्री पाएपछि जसपा अध्यक्ष उपेन्द्र यादव वाम गठबन्धनको सरकारमा गएका छन्। यो पार्टीले वन मन्त्रालय पनि पाएको छ।
तर, जसपा नेता सरोजकुमार यादव नेतृत्वको मधेश प्रदेश सरकार भने संकटमा परेको छ। केन्द्रको गठबन्धन अनुसार मधेशमा सरकार चलाउन बहुमत पुग्छ । तर, एमालेले मुख्यमन्त्रीमा दाबी गरेपछि मुख्यमन्त्री यादव तनावमा परेका छन्। अझ यो विषयमा माओवादीले पनि एमालेलाई साथ दिइरहेको छ।
जनमतका अध्यक्ष सिके राउतले आफूहरुले मधेश प्रदेशमा मुख्यमन्त्री पाउने अडान राखेका थिए। मुख्यमन्त्री नपाउने भएपछि उनी गठबन्धनमा गएनन्।
यही भेउ पाएका जसपा नेताहरुले मधेशमा मुख्यमन्त्री सुनिश्चत गरेर मात्र केन्द्र सरकारमा जाने निर्णय गर्नुपर्ने होइन भने कांग्रेसको गठबन्धनमा बस्नुपर्ने बताएका थिए।
तर, आफू मन्त्री बन्न पाउने भएपछि अध्यक्ष यादवले मधेश सरकारबारे धेरै सोचेनन्। उधारो आश्वासनमा गए।
आफ्ना अध्यक्ष उपप्रधानमन्त्री बनेपछि हौसिएका मुख्यमन्त्री यादवले पनि कांग्रेसलाई मधेश सरकार छाड्न भनेका थिए।
जसपा सरकारमा गएको एक साता नपुग्दै परिस्थिति फेरिएको छ। अहिले जसपा हायलकायल बनेको छ। एमालेका नेताहरूले मुख्यमन्त्रीमा दाबी गरेपछि यादव तनावमा छन्। उनी कांग्रेससँग मिलेर सरकार टिकाउने मनसायमा पुगेका हुन् ।
त्यही भएर मुख्यमन्त्री यादवले तत्काल कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गरेका छैनन्।
वाम गठबन्धनमा एमालेका २४, जसपाका १९, माओवादीका ९, एकीकृत समाजवादीका ६ र नागरिक उन्मुक्तिका एक गरी ५९ प्रदेश सांसद छन् । मधेश प्रदेशमा कुल १०७ सांसद रहेकोमा सरकारको लागि ५४ मत आवश्यक हुन्छ ।
एमालेले मुख्यमन्त्री दाबी गरेपछि १९ सिटको जसपा भने २३ सिटको कांग्रेसको साथ खोजिरहेको छ। यसबाहेक जनमतका १३, लोसपाका ९ र राप्रपाका एक सांसद छन् । त्यसैगरी, सभामा १ स्वतन्त्र सांसद र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन् । नेपालपाना