बुद्ध सर्किटमा मोनोरेलको सम्भाव्यता अध्ययनमा सघाउन मुख्यमन्त्रीको प्रस्ताव
देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध सर्किटलाई आधार मानेर मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनमा सघाउने योजना अघि सारेका छन्।
छिमेकी देश चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन चीन भ्रमणमा रहेका मुख्यमन्त्री आचार्यले व्यापार र लगानीबारे आज भएको विज्ञसहितको कार्यशालामा रुपन्देही, नवलपरासी पश्चिम र कपिलवस्तु जिल्लालाई बुद्ध सर्किटसँग जोड्ने योजना कार्यान्वयनमा ल्याउन मोनोरेल सञ्चालनबारे अध्ययनका लागि विदेशी लगानीकर्तासमक्ष योजना अघि सारेको उनको सचिवालयले जनाएको छ।
“बुद्ध सर्किटमा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययन गर्न आह्वान भएको छ। यसबाट आउने नतिजाको आधारमा थप प्रक्रियाअघि बढाइनेछ। यसका साथै प्रदेश राजधानीलाई नमूना बनाउने र सडक सञ्जालबाट जोड्ने गरी बृहत् योजना अघि सारिएको छ। लगानीकर्ता र विज्ञहरूको ध्यान केन्द्रित गर्न सफल भएका छौँ”, मुख्मन्त्रीको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ।
मुख्यमन्त्री आचार्यले प्रदेशमा कृषि, उद्योग, व्यापार क्षेत्रको विकासमा पनि विदेशी दातृ निकाय तथा लगानीकर्ताको ध्यानाकर्षण गराएका छन्।
छलफलमा खासगरी प्रदेश राजधानी शहर निर्माण आयोजना, भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र प्रदेश राजधानी शहर राप्ती देउखुरी जोडन आवश्यक पर्ने सुरुङमार्ग निर्माण, बुद्ध सर्किटमा पर्ने विभिन्न स्थानमा पर्यटकीय पूर्वाधार निर्माण र मोनोरेल, लुम्बिनी प्राविधिक विश्वविद्यालयका लागि चिनियाँ प्राविधिक विश्वविद्यालयको आवश्यक सहयोगलगायत विषयमा ध्यानाकर्षण गराइएको छ।
यसैगरी, चिनियाँ विधायन पद्धति र सिकाइका आधारमा लुम्बिनी प्रदेशसभाका सभासद्हरूको क्षमता अभिवृद्धि गर्न आवश्यक सहयोग, कृषक, पशुपालकको लागि क्षमता अभिवृद्धि उत्पादित वस्तु बजारीकरण तथा जडीबुटी उत्पादकको क्षमता विकासमा सहयोग तथा बजारीकरणमा सहयोग, पर्यटनस्थल व्यवस्थापन र पथ प्रदर्शनसम्बन्धी विशिष्ट तालिम एवं भाषा प्रशिक्षणको विषयमा पनि ध्यानाकर्षण गराइएको छ।
सम्मेलनमा मुख्यमन्त्री आचार्यसहित प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत सहभागी रहेका छन्।