उनले भने,‘बीआरआई अनुदानमा कार्यान्वयन गर्नुपर्छ भन्ने नेपाली कांग्रेसको स्ट्याण्ड हो । नेपाली कांग्रेस अहिले सरकारमा छ, यो विषयमा के निर्णय गर्छ भन्नेबारे पार्टीमा छलफल भएको छैन् । अहिले ऋणबाट वाक्क भएर इटालीदेखि ब्राजिलले पनि हामी बस्दैनौं भनेका छन् । श्रीलंकादेखि पाकिस्तानसम्मको अवस्था, यो बीरआआई डेब्ट ट्रयापमा परेका इतिहास हामीले सुनिराखेका छौं । त्यसकारणले हामी ऋणमा होईन, अनुदानमा लिने नेपाली कांग्रेसको पोजिसन हो । यो बीआरआईको सम्बन्धमा सरकारले हामीलाई ब्रिफपनि गर्नुपर्यो । संसद्मा पनि ब्रिफिङ गर्नुपर्यो । जसरी अमेरिकी सहयोग परियोजना एमसिसीको बारेमा संसद्मा छलफल भयो, बीआरआईबारेपनि छलफल हुनुपर्छ ।’
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले बीआरआई अनुदानमा मात्रै लिन सकिने धारणा राखे । उनले अघि भने,‘सेक्युरिटीको बारेमा त्यहाँ छ, लिगल एक्सचेञ्जका कुरा छन्, अनि त्यसपछि सिल्क रोडको कुरा छ । धेरै चिजहरु छन् त्यसमा । मैले आँफैले अहिलेसम्म पूरा बुझ्न पाएको छैन् । सरकारले कति बुझ्या छ, बुझेको हो भने हामीले पनि बुझ्नुपर्यो । खाली बीआरआई भनेर ब्ल्यांक सपोर्ट भन्दा पनि अनुदानमा लिने कुरा हो । कांग्रेसको पोजिसन मैले अघि नै भनिसकें । अब सरकारमा छ, के गर्छ हामीले हेर्नुछ ।’