पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला समेतले अध्ययन गरेको दिल्ली विश्वविद्यालयमा अन्तर्राष्ट्रिय छात्र महोत्सव भव्य रुपमा सम्पन्न
नयाँ दिल्ली, फागुन २७ । मो.आरिफ अन्सारी (अमन)
दिल्ली विश्वविद्यालयको फरेन स्टुडेन्ट्स (FSR) विभागद्वारा आयोजित अन्तर्राष्ट्रिय छात्र महोत्सव—२०२५ मंगलवार धूमधामका साथ सम्पन्न भएको छ । 
विशेष अतिथि फिजी गणराज्यका उच्चायुक्त जगन्नाथ सामी र प्रमुख अतिथि भारत सरकारका पूर्व विदेश सचिव तथा राजदूत शशांक मिश्रा रहेको उक्त कार्यक्रम विश्वविद्यालयका कुलपति प्रोफेसर योगेश सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै मख्य अतिथि शशांक मिश्राले विद्यार्थीहरुलाई प्रेरित गर्दै भने,—‘तपाईंहरु यहा“ अध्ययन गर्न आएका विद्यार्थी मात्र होइन, भारतसँग आफ्ना देशको सम्बन्ध बलियो बनाउने सेतु पनि हुनुहुन्छ ।’ उनले जोड दिंदै भने,—‘भारतीय दर्शनको विशेषता यही हो कि ज्ञानलाई जति बाँडन्छि, उति नै बढ्छ । पश्चिमी चिन्तनमा प्रतिस्पर्धा हुन्छ, तर भारतीय चिन्तन सहकार्यमा विश्वस गर्दछ ।’ 
त्यसैगरी, फिजी गणराज्यका उच्चायुक्त जगन्नाथ सामीले भावुक हुँदै भने,—‘मेरा पुर्खाहरु भारतबाट फिजी गए । उनीहरू किताब बोकेर गएनन्, बरु रामायण, महाभारत, गीता, कुरान र बाइबल आफ्नाे हृदयमा बोकेर गए । त्यसैले फिजीमा भारतीय सँस्कृति जिउँदो छ ।’ उनले थपे,—‘फिजी सानो भारतजस्तै छ, जहाँ रामलीला, कृष्णलीला भजन र पर्वहरुले हाम्रो पहिचान जोगाईरहेका छन् ।
विश्वविद्यालयका कुलपति प्रोफेसर योगेश सिंहले भने,—‘विदेशी विद्यार्थीहरुले भारतका विभिन्न ठाउँको भ्रमण गरेमा भारतीय सँस्कृति अझ गहिरोसँग बुझ्न सक्नुहुन्छ ।’ उनले थप—‘दिल्ली विश्वविद्यालय भारतको पहिलो विश्वविद्यालय हो, जसले सन् १९५६ मै विदेशी विद्यार्थीका लागि विशेष अफ्रिकन स्टडी विभाग स्थापना गरिसकेको थियो ।’
कुलपति योगेश सिंहले विश्वविद्यालयका प्रतिष्ठित पूर्व विद्यार्थीहरुको चर्चा गर्दै भने,—‘हाम्रा धेरै पूर्व विद्यार्थीहरु आज आफ्ना देशका राष्ट्रपति, प्रधानमन्त्री, वैज्ञानिक, लेखक र समाजसेवी बनेका छन् । उदाहरण दिंदै सिंहले थपे,—‘मारिससका राष्ट्रपति गोकुल धर्म, श्रीलंकाका प्रधानमन्त्री हरिनी अमरसूर्या, म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता आङसान सुकी, नेपालका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाजस्ता व्यक्तित्वहरु हाम्रो विश्वविद्यालयका गर्व हुन् ।’
डियुका डीन एफएसआर प्रोफेसर अमरजीवा लोचनले जानकारी गराउ“दै भने,—‘हाल ४५ भन्दा बढी देशका विद्यार्थीहरू यहा“ अध्ययनरत छन् । विद्यार्थीहरुले आ—आफ्ना देशका परम्परागत नृत्य, गीत र भेषभूषा मार्फत साँस्कृतिक विविधता प्रस्तुत गरेका छन् ।
कार्यक्रममा बौद्ध भिक्षुहरुले शान्ति एवम् ज्ञानको सन्देश दिने प्रार्थना प्रस्तुत गरेका थिए भने तिब्बती संगीत, फिजीको पारम्परिक नृत्य, श्रीलंकाली कन्दियन डान्स, कम्बोडियाली अपसरा नृत्य, थाईल्याण्डको रामकियेन प्रस्तुति, भेनेजुएलाको पारम्परिक गीत, दक्षिण कोरियाली के—पप तथा नेपाली गीतहरु दर्शकहरुका लागि विशेष आकर्षण बनेका थिए ।
विद्यार्थीहरुले कार्यक्रमको अनुभव बाँड्दै भने,—‘हामीले यहा“ अध्ययन मात्र होइन, विभिन्न सँस्कृतिहरूलाई नजिकबाट बुझ्ने अवसर पनि पायौं ।’ नेपाली विद्यार्थी अमृता भण्डारीले भनिन्—‘भारतमा आएर मैले नेपालको इतिहास र सँस्कृतिलाई अझ स्पष्टसँग बुझ्न पाएकी छु ।’ यो महोत्सवले भारतीय शिक्षाको अन्तर्राष्ट्रिय प्रभाव देखाएको मात्र होइन, विश्वभरका सँस्कृतिहरु एक ठाउ“मा कसरी जोडिन सक्छन् भन्ने सन्देश पनि दिएको छ ।
विश्वविद्यालय परिसर एकदिनका लागि सानो विश्व झैं देखिन्थ्यो, जहाँ विभिन्न देशका विद्यार्थीहरु आ—आफ्नाे सँस्कृति झल्काउने परिधनमा थिए । साँस्कृतिक प्रस्तुतिहरु, पारम्परिक संगीत, विविध परिकार र अन्तर्राष्ट्रिय विद्यार्थीसँगको संवादले कार्यक्रमलाई विशेष बनाएको थियो ।
कार्यक्रममा डियु कल्चर काउन्सिलका चेयरपर्सन अनुप लाठर, विभिन्न देशका राजदूत, काउन्सलर प्रतिनिधिहरु, विश्वविद्यालयका प्राध्यापक,४५ देशका विद्यार्थीहरु तथा अतिथिहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।


