चलचित्र पत्रकार संघ बाँकेद्वारा सुवेदी र गिरी सम्मानित
नेपालगञ्ज । चलचित्र पत्रकार संघ नेपाल बाँकेले मोफसलमा रहेर कला, कर्म र पत्रकारिता गरिरहेका २ जनालाई सम्मान गरेको छ । २६औँ बार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा आज नेपालगञ्जमा आयोजित एक कार्यक्रममा निर्देशक तथा डान्सर नवराज सुवेदी र पत्रकार सावित्री गिरीलाई सम्मान गरिएको हो । सुवेदीलाई तीन हजार एक सय र गिरीलाई दुई हजार एक सय नगद रुपैयाँ र प्रमाण पत्रसहित सम्मान गरिएको हो । मोफसलमा रहेर सुवेदीले दर्जनौं म्युजिक भिडियो र लघु चलचित्र निर्देशन गरेका छन् । यस्तै चलचित्र विधामा कलम चलाउन प्रोत्साहन गर्ने गरी पत्रकार गिरीलाई सम्मान गरिएको चलचित्र पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले चलचित्रप्रति आफ्नो लगाव रहेको बताउँदै चलचित्र हेर्नका लागि गरेको विगतको संघर्ष स्मरण गरे । सिनेकर्मी, पत्रकार, सिनेमा हल र दर्शक एकअर्काको परिपूरक भएको बताउँदै चलचित्र पत्रकार संघले यी निकायबीच समन्वय बढाउन भूमिका खेलिरहेको पनि उनले बताए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले अहिले नेपाली चलचित्रहरुले राम्रो व्यापार गरिरहेको बताउँदै नेपालगञ्जमा सुविधा सम्पन्न फिल्म हल निर्माण हुनु पनि गौरवको विषय भएको बताए । केन्द्रबाट दर्शक भेट्न नेपालगञ्ज आएका कलाकारलाई पत्रकारसँग साक्षात्कार गराउने कामलाई निरन्तरता दिन संघलाई उनले सुझाव दिए ।
बरिष्ठ पत्रकार निरज गौतम, संगीतकर्मी तथा चलचित्र पत्रकार संघ नेपाल बाँकेका सल्लाहकार सुन्दर गुरुङले विधागत पत्रकारिता गर्न, चलचित्र पत्रकारिता सम्बन्धि सीप अभिवृद्धि गर्न सुझाव दिएका छन् । आएका सुझावहरुलाई आगामी दिनमा कार्यान्वयन गर्दै लैजाने संघका अध्यक्ष पौडेलले बताए । कार्यक्रममा स्वागत कार्यवहाक सचिव लक्ष्मी तिमिल्सिनाले गरेकी थिइन् भने सञ्चालन निशु जोशीले गरेकी थिइन् ।



