भारत–नेपाल सांस्कृतिक सम्बन्ध सुदृढ बनाउँदै , लुम्बिनीमा योग दिवस
लुम्बिनी । भगवान् बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न भएको छ। नेपालस्थित भारतीय राजदूतावास र लुम्बिनी विकास कोषको सहकार्यमा आयोजित कार्यक्रममा सयौं सहभागीले योग अभ्यासमा भाग लिएका छन्।
११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी प्रमुख अतिथि थिए। कार्यक्रमलाई सम्बोधन गर्दै दुबै विशिष्ट व्यक्तिहरूले भारत–नेपालबीचको सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने कार्यमा भारतीय राजदूतावासले खेलेको भूमिकाको प्रशंसा गरे।
कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ अधिकारीहरू तथा स्थानीय ५०० भन्दा बढी योगप्रेमीको उल्लेखनीय सहभागिता थियो।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले योगको ऐतिहासिक महत्व र यसको विश्वव्यापी प्रभावबारे प्रकाश पार्दै भने, “सन् २०१४ मा संयुक्त राष्ट्रसंघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरेपछि योग आज एक विश्वव्यापी आन्दोलन बनेको छ।” लुम्बिनीजस्तो शान्ति र सद्भावको प्रतीकस्थलमा योगका कालातीत मूल्यहरू मनाउन पाउनु गर्वको विषय भएको उनले बताए।
राजदूत श्रीवास्तवले लुम्बिनी विकास कोषलाई कार्यक्रम सञ्चालनमा दिएको सहकार्यका लागि आभार व्यक्त गर्दै लुम्बिनीलाई एक अन्तर्राष्ट्रिय आध्यात्मिक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न यस्तो कार्यक्रमले सघाउ पुर्याउने धारणा राखे।
यो कार्यक्रम नेपालका विभिन्न शहरहरूमा भारतीय राजदूतावासद्वारा आयोजना भइरहेका योग दिवसका कार्यक्रमहरूको श्रृंखलाको एक भाग हो। राजदूतावासले भोलि पोखरा रंगशालामा पोखरा महानगरपालिकासँगको सहकार्यमा अर्को भव्य योग प्रदर्शनको आयोजना गर्ने जनाएको छ।


