३१ असार २०८३, बुधबार

माइतीघरबाट पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न शाहीको माग

एसीपी संवाददाता

२३ आश्विन २०८२, बिहीबार १५:५८ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले माइतीघर मण्डलाबाट पक्राउ परेका अभियन्ताहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत शाहीले देश बनाउने माग राख्दा अभियन्ताहरूलाई पक्राउ गरिएकोमा आपत्ति जनाएका हुन्।

बिहीबार जेन-जी आन्दोलनका अभियन्ता डा. निकोलस भुसालसहित १८ जनालाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको थियो।

उनीहरूले आफ्ना मागहरू पूरा नभएको भन्दै प्रदर्शन गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको छ।

नेता शाहीले पक्राउ परेका अभियन्ताहरूको माग देश बनाउनका लागि भएको उल्लेख गर्दै सरकारले उनीहरूलाई तुरुन्त रिहा गर्नुपर्ने बताए।

उनले भने, ‘माइतीघर मण्डलाबाट पक्राउ परेका डा. निकोलस भुसाल सहितका अभियन्ताहरूलाई तत्काल सरकारले रिहा गर्नुपर्छ। उनीहरूको माग भनेको ८४ को चुनाव ८२ मा गर्नका लागि होइन, यो देश बनाउनका लागि हो।’

शाहीले देशमा परिवर्तनका लागि युवाहरूले बलिदान दिएको स्मरण गराउँदै उनीहरूका सपना पूरा गर्न सरकार लाग्नुपर्नेमा जोड दिए। उनले अभियन्ताहरूका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेजी, संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द, राष्ट्रिय एकता कायम, भ्रष्टाचारीहरूलाई सर्वस्वहरणसहित कारबाही जस्ता माग सरकारले पूरा गर्नुपर्ने बताए।

यदि यी मागहरू सरकारले पूरा नगरे देशभरि फेरि आन्दोलन हुने र त्यसलाई वर्तमान सरकार र व्यवस्थाले थेग्न नसक्ने चेतावनीसमेत शाहीले दिएका छन्। ‘अब परिवर्तन भएरै छाडिन्छ, सम्झौताका नाममा धोका दिन पाइँदैन,’ उनले भने। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x