रवि लामिछानेको भारत भ्रमण मधेशी प्रधानमन्त्री ‘सफाया गर्ने’ रणनीतिको रूपमा नहोस : सीके राउत
जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणलाई लिएर आशंका व्यक्त गरेका छन्।
राउतले उक्त भ्रमण मधेशी नेतृत्वलाई कमजोर बनाउने वा ‘सफाया गर्ने’ रणनीतिको हिस्सा नबनोस् भन्दै आशंका व्यक्त गरेका हुन्।
उनले नेपालमा पहिलो पटक एक मधेशी नेता प्रधानमन्त्री बनेको उल्लेख गर्दै त्यसको विकल्प खडा गर्ने, उनको राजनीतिक हैसियत घटाउने तथा विगतमा अन्य मधेशी नेताहरूमाथि गरिएझैँ राजनीतिक दबाब सिर्जना गर्ने प्रयास हुन सक्ने दाबी समेत गरे।
‘रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण मधेशीलाई झन् अर्को सफाया गर्ने र तह लगाउने रणनीतिको रूपमा नहोस्,’ उनले सामानिक सञ्जालमा लेखेका छन्, ‘चाहे जसको भरमा होस्, जुनसुकै पार्टीबाट होस्, एउटा मधेशी प्रथम पटक नेपालको प्रधानमन्त्री बनेको छ, तर बडो ऐतिहासिक तामझामको मञ्चन गरेर उसको विकल्प खडा गर्ने र अरू मधेशी नेतालाई झैँ उसलाई पनि दुर्दिन र हैसियत देखाइदिने षडयन्त्र बुनिँदैछ।’
राउतले नेपालका मधेशी नेताहरूलाई विगतदेखि नै विभिन्न माध्यमबाट स्थापित हुन नदिइएको आरोप लगाएका छन्। उनका अनुसार तराई कांग्रेसदेखि लिएर जसपा र जनमत पार्टीसम्मका नेतृत्वलाई पार्टी विभाजन, बदनाम, देशद्रोहीको आरोप, पक्राउ तथा अन्य राजनीतिक गतिविधिमार्फत कमजोर बनाउने प्रयास हुँदै आएको छ।
उनले वर्तमान मधेशी प्रधानमन्त्री पनि यस्तै राजनीतिक निशानामा पर्न सक्ने आशंका व्यक्त गर्दै यसप्रति सचेत रहनुपर्ने बताए।
‘आजसम्म नेपालमा कुनै पनि मधेशी नेतालाई स्थापित हुन दिइएन। तराई कांग्रेसदेखि जसपा र जनमतसम्म, चाहे पार्टी फोडेर होस्, बदनाम गराएर होस्, देशद्रोहीको बिल्ला भिडाएर होस्, पक्राऊ र इन्काउन्टर गराएर होस्, शून्यमा झारेर होस्, कुनै पनि मधेशी नेतालाई आजसम्म स्थापित हुन दिइएन,’ राउतले भने, ‘दुर्भाग्यले अब निशानामा विचरा मधेशी प्रधानमन्त्री हुनुहुन्छ।’नागरिकन्युज



