प्रधानमन्त्रीलाई ‘खलनायक’ बनाउने प्रयास भयो: सांसद धिताल
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले नेपाल-भारत सीमा सम्बन्धी विषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहलाई विपक्षी दलहरूले ‘खलनायक’ बनाउन खोजेको भन्दै आपत्ति जनाएकी छन्।
प्रधानमन्त्रीले संसद्मा उठाएको राष्ट्रिय महत्त्वको विषयलाई राजनीतिक दाउपेचको माध्यम बनाइएको उनको ठम्याइ छ।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै धितालले सीमा विवाद दशकौंदेखि समाधान हुन नसकेको र यस्तो संवेदनशील र राष्ट्रिय महत्वको विषयलाई राजनीतिक आरोप-प्रत्यारोपको विषय बनाइएको भन्दै आपत्ति जनाएकी हुन्।
विगतका सरकारहरूले भारतसँग गरेका विभिन्न सन्धि-सम्झौताहरूमा राष्ट्रिय हितका प्रश्नहरू उठ्ने गरेको स्मरण गराउँदै उनले ‘अरूले गल्ती गरे भन्दैमा आफूले पनि गर्न पाउनुपर्छ’ भन्ने सोच नै गलत भएको बताइन्।
सांसद धितालले विगतका घटनाक्रमलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्दै वर्तमानको कूटनीतिक प्रयासलाई सहयोग गर्नुपर्नेमा जोड दिइन्।
विगतमा सीमाको विषयमा उच्चस्तरीय राजनीतिक संवाद हुन नसकेको भन्दै उनले अहिले कम्तीमा वार्ता र संवादमा समाधान खोज्ने वातावरण बनेको उल्लेख गरिन्।
प्रधानमन्त्रीको अभिव्यक्तिपछि कुनै पनि कूटनीतिक प्रयासलाई राष्ट्रघातको दृष्टिले हेर्ने, प्रधानमन्त्रीलाई समय अगावै दोषी ठहर गर्ने तथा नागरिकमा शंका र अविश्वास फैलाउने प्रवृत्तिले समाधानको बाटोभन्दा अवरोधको राजनीति खडा हुने उनको बुझाइ छ।
सांसद धितालले आफ्नो पार्टी सभापति र प्रधानमन्त्रीबाट राष्ट्रको हित विपरीत कुनै पनि सम्झौता नहुनेमा दृढ विश्वास व्यक्त गरिन्।
राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र नेपाली जनताको बृहत्तर हितभन्दा माथि कुनै पनि वैदेशिक दबाब वा व्यक्तिगत स्वार्थ हुन नसक्ने उनको भनाइ छ। नागरिकन्युज



