चीनले १५ अक्टोबर (२९ असोज) मा सर्कुलर जारी गर्दै रासायनिक मल निर्यातमा कडाइ गरेको छ । चीनमा नै कम मल उत्पादन भइरहेकाले निर्यात गर्दा सरकारको अनुमति लिनुपर्ने र सकेसम्म कम मल निर्यात गर्न दिने चिनियाँ नीतिले नेपाल लगायत अन्य देशमा मलको संकट निम्तिएको हो ।
चीनको यो एकतर्फी निर्णयका कारण नेपालका किसानले रासायनिक मलको चरम अभाव खेपिरहेका छन् । मुख्य गरी गहुँ र व्यावसायिक तरकारी खेती गर्ने किसान स्थानीय सहकारीमा घन्टौँ लाइनमा बस्दासमेत रित्तो हात फर्किन बाध्य छन् ।
यदि चीनले सम्झौताअनुसार मल उपलब्ध गराएको भए यो समस्या हल हुन किसानहरू बताउँछन् ।
कृषि सामग्री कम्पनी लिमिटेडले सुरुमा १० हजार टन युरियाका लागि टेन्डर गरेको थियो । त्यसमा आपूर्तिकर्ता सिल्क ट्रान्सपोर्ट छनोट भएको थियो । तर, चीनबाट गत असोजमा १४ सय ६५ टन मात्रै मल नेपाल भित्रिएको छ ।
बाँकी ८ हजार पाँच सय ३५ टन मल अझै नेपाल भित्रिन सकेको छैन ।
नेपालले चिनियाँ मल उत्पादनकर्ता क्वीनघाई यन्टीएनहुआँ इण्टरनेशनल फर्टिलाइजर को लि, क्वीनघाई, चीनमा मल आपूर्तिमा सम्झौता गरेको थियो ।
चीनको यो नयाँ नीतिका कारण सिल्क ट्रान्सपोर्टले आयात गरेको मल चीनका विभिन्न स्थानमा अड्किएर थन्केको छ । त्यस्तै, तातोपानी बन्दरगाहमा मात्र ३०० मेट्रिक टक मल अड्केको छ ।


