‘हिरोइन बन्नु र? बुवाले के भन्नुहोला!’ दिदीले अनकनाउँदै सोधिछन्, ‘कुन फिलिमको सुटिङ?’
नेपालगञ्ज सहरमा हिन्दी फिल्मको दबदबा नै अर्कै। नयाँ फिल्म आयो कि सहरभरी डंका पिटिन्थ्यो। त्यसले किशोर मन सबभन्दा चञ्चल बनाउने भइहाल्यो। पार्वती थापा र उनकी दिदीलाई आफ्नै दाइले ‘सुटिङ’ सिकाइदिन्छु भन्दा नरमाउने कुरै भएन।
‘लाटी, हिरोइनवाला सुटिङ होइन, बन्दुक हान्ने क्या,’ दाइले भने।
‘हामीलाई सुटिङ खेल पनि हुन्छ भन्ने थाहा थिएन,’ पार्वतीले सम्झिन्, ‘नेपालगञ्जका धेरैलाई सुटिङ भनेको फिलिमकै होला भन्ने लाग्थ्यो।’
कुरा बुझेपछि माइली दिदीले भनिछन्, ‘म त खेल्दिनँ, पार्वती खेल्छ, यसैलाई लैजाऊ।’
त्यसपछि सुरू भयो पार्वतीको सुटिङ यात्रा। यसले उनलाई पहिलो नेपाली महिला ओलम्पियनको इतिहास बनाउने ठाउँमा पुर्यायो।
उनी किशोरी हुँदाको कुरा- स्कुलका खेलकुदमा भाग लिनु ठूलो कुरा थिएन। छोरीहरू स्कुलबाहेक घरबाहिर गएको उनका बुवाले निको मान्दैनथे।

‘दिदीबहिनी आठ जना थियौं। धेरै भएकाले पनि होला, बुबाले निकै कडाइ गर्नुहुन्थ्यो। त्यो जमानामा छोरीको जिम्मेवारी बोझ नै त थियो। छोरीलाई केही हुन्छ भन्ने डरले पनि होला, नेपालगञ्जबाहिर जान छुट थिएन,’ उनले सुनाइन्।
सहरबाहिर जान बन्देज थियो। तर छोरीहरूले घरकै काममात्र गर्नुपर्छ भन्ने पनि थिएन। छोरीहरू स्कुल जान थालिसकेका थिए। खेलकुदमा भाग लिन्थे। स्कुले खेलमा पार्वती अग्रपंक्तिमा थिइन्। भलिबलदेखि दौड, लङजम्प, हाइजम्पमा भाग लिन्थिन्।


