भारतीय क्रिकेटमा रोहितको क्लीनस्वीप कप्तानी इनिङ
काठमाडौँ : विराट कोहलीले कप्तानी छाडेपश्चात भारतमा टेस्ट क्रिकेटको भविष्यलाई लिएर चिन्ता ह्वात्तै बढेको थियो । कोहलीले भारतीय क्रिकेट मात्रै होइन, पूरै विश्वभर टेस्ट क्रिकेटको रोमाञ्चकतामा परिवर्तन ल्याइदिएका थिए । तर उनैले अचानक टेस्ट क्रिकेटको कप्तानी छाडिदिए । चिन्ता बढ्नु स्वभाविक थियो ।
तर तत्काललाई कोहलीको कप्तानी अभाव महसुस भएपनि श्रीलंकाविरुद्धको टेस्ट क्रिकेट सिरिज क्लीनस्वीप गरेपछि रोहित शर्माले भारतीय टेस्ट क्रिकेटको आशा जिवितै राखेका छन् ।
टेस्ट कप्तान बनेपछिको पहिलो सिरिज क्लीनस्वीप गरेपछि रोहितलाई यसले राहत दिएको छ । किनकी रोहितले टेस्ट खेल्न थालेको धेरै भएको छैन । भारतको पूर्णकालीन कप्तान बनेपछि रोहितले खेलेका ४ टेस्टमा ३ जित निकालेका छन् । एउटा टेस्ट भने बराबरीमा सकिएको थियो ।
कोहलीको कप्तानीमा फास्ट बलरको टोली बन्न सफल भएको भातर अहिले फरक टिमका रुपमा प्रस्तुत भइरहेको छ । नयाँ ब्याटरलाई उच्च महत्व र बलरको प्रयोगलाई नयाँ हतियार बनाएका रोहितले टेस्टसँगै तीन एकदिवसीय क्लीनस्वीप गरिसकेका छन् । यसबीचमा नौँ वटा टी–ट्वान्टी सिरिज जितेका रोहितले भारतलाई २० ओभरको खेलमा नम्बर एक टी–ट्वान्टी टिम बनाइसकेका छन् ।
युवा स्टारलाई चम्काउने कप्तान
भारतले श्रीलंकाविरुद्ध तीन खेलको टी–ट्वान्टी र दुई खेलको टेस्ट क्रिकेट सिरिज क्लीनस्वीप गरेको थियो । जहाँ भारतीय टिमको कप्तानीका रुपमा रोहितले आफूलाई प्रमाणित गरे । उनी आफू बलियो सुरुवात गरेर खेल खेल्ने र जिताउने श्रेय खेलाडीलाई दिन रुचाउँछन् । त्यही भएर उनी आइपीएलका सर्वाधिक सफल कप्तानका रुपमा परिचित पनि छन् ।
हालै सम्पन्न भएको श्रीलंकाविरुद्धको सिरिजको पहिलो टेस्ट खेलअन्तर्गत पहिलो इनिङ्समा नै अविजित हुँदै रविन्द्र जडेजाले १ सय ७५ रन जोडे । १७ चौका र ३ छक्का प्रहार गरेका उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए । बलिङमा जडेजाले ५ विकेट लिन सफल भए ।
साथै फेब्रुअरी महिनाको आइसीसी ‘प्लेयर अफ द मन्थ’ भएका श्रेयास आयरले पनि ९८ बलमा १० चौंका र ४ छक्का प्रहार गर्दैँ ९२ रनको योगदान गरे । श्रीलंकाको पहिलो इनिङमा १० ओभरमा जस्प्रित बुम्राहले पाँच विकेट लिन सफल भए । यस्तै युवा स्टाइलिस विकेटकिपर ब्याटर रिषभ पन्तले पहिलो इनिङमा ७६ रन जोडे ।

पन्तको उपस्थितिले मैदानमा आएको परिवर्तनले त्यतिकै अपेक्षा रह्यो । साथै पन्तले आफुलाई भरपर्दो विकेट किपर ब्याटरका रुपमा उभ्याउन फेरि एकपटक सफल भए । दुई इनिङमा राम्रो प्रदर्शन गरेका पन्त ‘प्लेयर अफ द सिरिज’ पनि बने । आइपीएलका उत्कृष्ट कप्तान रोहितको नेतृत्वमा दिल्लीका युवा ब्याटर आयर र पन्तको लोभलाग्दो प्रदर्शनलाई पनि भारतीय क्रिकेटको भविष्यको रुपमा हेरिएको छ ।


